• १९ असोज २०८१, शनिबार

"सबैले मिलेर देश बनाउनुपर्ने आवश्यकता छ"

नेपाल छिट्टै सम्पन्न राष्ट्र बन्छ : प्रधानमन्त्री देउवा

blog

सत्तारुढ गठबन्धनले मंगलबार ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर : केशब गुरुङ

काठमाडौं, कात्तिक १ गते। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल छिट्टै नै सम्पन्न राष्ट्र हुने सम्भावना रहेको बताउनुभएको छ। 

ललितपुरमा मंगलबार आयोजित वाम-लोकतान्त्रिक गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुभयो उहाँले कोभिड–१९ महामारीको अवस्था र यसपछि डेंगुका कारण स्वास्थ्य क्षेत्रमा देखिएको अवस्थाबारे चर्चा गर्नुहुँदै सो कुरा बताउनुभयो। नेपाललाई कसै–कसैले श्रीलङ्का जस्तो हुन्छ भन्ने रहेपनि सरकारका मन्त्रीले जिम्मेवारीपूर्वक काम गरेकाले त्यसो हुन नपाएको उहाँको भनाइ छ।

प्रधानमन्त्री देउवा भन्नुभयो, “नेपालको श्रीलङ्का जस्तो हालत हुन्छ भन्ने पनि थिए, त्यस्तो होस् भन्ने चाहने पनि थिए। मन्त्रीले राम्रो काम गर्नुभएको छ। श्रीलङ्का हुनबाट नेपाल बचेको छ। नेपाल असफल राज्य हुनबाट बचेको छ। यस मानेमा नेपाल धेरै अगाडि बढेको छ।”

देशको जलस्रोत, बिजुली छिमेकी मुलुक भारतले किनेको भन्नुहुँदै ठूल–ठूला विद्युत् उत्पादन लगायतका सन्दर्भमा उहाँले नेपाल छिट्टै नै सम्पन्न राष्ट्र हुने सम्भावना बढेको बताउनुभयो। यस अर्थमा, नेपाल धेरै महत्त्वपूर्ण रूपमा अगाडि बढेको समेत उहाँले उल्लेख गर्नुभयो। 

“नेपाल राष्ट्र एउटा ट्रान्जिसनमा छ भन्दा पनि हुन्छ, लोकतन्त्रलाई स्थायी पार्नु छ। ओलीजीले दुई पटक संसद् भङ्ग गर्नुभयो। जनताले चुनेको संसद्, संविधान कुनै पनि हालतमा भङ्ग गर्न नपाउने संवैधानिक व्यवस्था भए पनि भङ्ग भयो। यसकारण, संसद् बचाउन आवश्यक छ”, संसारभरि नै आवधिक निर्वाचन पद्धति रहेको भन्नुहुँदै उहाँले निर्वाचनलाई स्थायी बनाउनुपर्ने बताउनुभयो। 

प्रधानमन्त्री देउवाले हालको गठबन्धनमा नेताहरूबाट सहयोग भएका र यो राम्रोसँग सञ्चालन भएको भन्दै धन्यवाद दिनुभयो। 

प्रधानमन्त्री देउवाले भन्नुभयो, “अहिलेको संविधान लामो समय जानेछ। सबैले मिलेर देश बनाउनुपर्ने आवश्यकता छ”, उहाँले देश कुनै जात विशेष नभएको आदिवासी, जनजाति, दलित, पिछडिएको क्षेत्र, महिला समावेशी लोकतन्त्रलाई रक्षा गर्नुपर्नेमा जोड दिनुभयो।