• ८ जेठ २०८१, मङ्गलबार

संविधान जोगाउन बनेको पवित्र गठबन्धन हो : माधव नेपाल

blog

सत्तारुढ गठबन्धनले मङ्गलबार ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल । तस्बिर : केशब गुरुङ

काठमाडौं, कात्तिक १ गते। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गणतन्त्र र संविधान जोगाउने काम गरेकाले सत्तारुढ गठबन्धन पवित्र भएको दाबी गर्नुभएको छ। 

सत्तारुढ गठबन्धनले मङ्गलबार ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उहाँले एमालेले बनाएको विपक्ष गठबन्धन भने अप्राकृतिक तथा अपवित्र दुवै भएको जिकिर गर्नुभएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कुल्चिने र लोकतन्त्र मास्ने कामलाई रोक्नका लागि गठन भएकाले सत्तारुढ गठबन्धन प्राकृतिक र पवित्र रहेको अध्यक्ष नेपालको तर्क छ। उहाँले जहानियाँ राणाशासनको अन्त्य गर्ने, पञ्चायती निरङ्कुशता अन्त्य गर्न सफल कांग्रेस र कम्युनिष्टबीचको गठबन्धन अब पनि सफलताको बिन्दुमा पुगेर छाड्ने बताउनुभयो। 

अध्यक्ष नेपालले भन्नुभयो, ‘‘पहिलो कुरा गठबन्धनको बारेमा प्रश्न उठ्लान्। विपक्षले जुन गठबन्धन बनाएका छन् त्यो अननेचुरल र अपवित्र पनि हो। पहिलो हाम्रो गठबन्धन गणतन्त्र र संविधान जोगाउनका लागि भएको हो। संविधान रक्षाको लागि, संविधान कुल्चने काम भएको थियो। दुई दुई पटक संविधान कुल्चने काम भएको थियो। त्यसको विपक्षमा हामी उभियौँ। देशको संविधान जोगायौँ। संविधान मात्रै जोगाएको होइन, लोकतन्त्र पनि जोगायौँ।’

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनलाई विजयी गराउनका लागि एकताबद्ध भएर अगाडि बढ्न पनि गठबन्धनमा आबद्ध दलका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो। गठबन्धनको तर्फबाट आगामी निर्वाचनका लागि साझा प्रतिबद्धता पत्र कात्तिक २ गते (भोलि) सार्वजनिक हुने भन्दै उहाँले जनताको घरदैलोमा पुगेर त्यसको प्रचार अभियानलाई तीव्रता दिनुपर्ने बताउनुभयो। अध्यक्ष नेपालले भन्नुभयो, ‘गठबन्धनका उम्मेदवारलाई विजयी गराउनका लागि तपाईँहरू एकताबद्ध भएर, योजनाबद्ध भएर अवश्य पनि सफलताको बिन्दुमा पुर्‍याउनुहुनेछ भन्ने मैले आशा र विश्वास लिएको छु। हाम्रो सहकार्य जति सशक्त हुँदै जानेछ, जति धेरै हामी समन्वय गर्दै जानेछौँ। जति धेरै हामी जनताको माझमा पुग्नेछौँ। हाम्रो विजय त्यति सुनिश्चित हुनेछ।’’

अध्यक्ष नेपालले मुलुकको शासन सञ्चालनमा त्रुटि, कमी रहेको औँल्याउँदै त्यसलाई सुधार गरेर अघि बढ्न पनि सरकारलाई सुझाव दिनुभयो।