• १३ साउन २०८१, आइतबार

ग्रामीण सडक पुनः अवरुद्ध

blog

सल्यान समाचारदाता

सल्यान,कात्तिक १ गते । वर्षापछि मर्मत गरिएका जिल्लाका अधिकांश सडक पुनः अवरुद्ध भएका छन् । सदरमुकामबाट पालिका पुग्ने मुख्य सडक र अन्य ग्रामीण सडक मर्मतका लागि स्थानीय तह पुनः जुटेका हुन् । 

खलङ्गा–कालीमाटी, खलङ्गा–जयतपानी–सल्लीबजार, थारमारे–चौरपानी–चौरजहारी, श्रीनगर–दहखोला, मोखला–दमाचौरलगायत तीन दर्जन बढी सडक अवरुद्ध बनेका छन् । मर्मत गरेको केही दिनमा नै आएको वर्षाले पुनः सडक अवरुद्ध हुँदा पालिकालाई व्ययभार थपिएको छ । दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले सदरमुकामबाट पालिका जोड्ने मुख्य सडकलाई मर्मत गरी सञ्चालन गरिएको बताउनुभयो । 

उहाँका अनुसार पालिकाबाट जोडिने अन्य सहायक सडकमा पहिरोले क्षति पु¥याएकाले मर्मत गर्न समय लाग्नेछ । ठाउँठाउँमा खसेका पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको छ । तिहारलगायतका अन्य चाडबाड आइसकेकाले मौसममा सुधार नभए पनि अवरुद्ध खलङ्गा जयतपानी सल्लीबजार सडक मर्मत गरी सञ्चालनमा ल्याएको छ । वनगाड कुपिण्डे नगरपालिकाका प्रमुख कर्णबहादुर बुढाथोकीले ग्रामीण क्षेत्र जोड्ने सडक मर्मत सम्भारका काम मौसममा सुधार आएपछि सुरु गरिने बताउनुभयो ।

यसैबीच जिल्लाका स्थानीय तहले बाढीपहिरोले भएको क्षतिको यकिन विवरण तयार पार्ने काम भइरहेको जनाएका छन् । बागचौर नगरपालिका नगरप्रमुख जनराज गौतमले वडा कार्यालयमार्फत क्षति विवरण सङ्कलन गर्ने काम सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार क्षतिको विवरण सङ्कलनपछि आवश्यक राहत तथा पुनर्निर्माणका कार्य अघि बढाइनेछ । वर्षाले ओटासिल गरिएको राप्ती राजमार्ग पनि जीर्ण बनेको छ । वातावरण प्रभाव मूल्याङ्कन नगरी जथाभावी खनिएका सडकका कारण थुप्रै बस्तीसमेत जोखिममा परेका छन् । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले ठाउँठाउँमा गएको पहिरो स्थानीय तह र सडक डिभिजन कार्यालयको सहकार्यमा पन्छाइएको जानकारी दिनुभयो ।