• ७ जेठ २०८१, सोमबार

‘अहिले सङ्गीतमा धेरै प्रतिस्पर्धा छ’

blog

चलचित्र ‘मङ्गलम’को पर्खपर्ख मायालु, ‘छक्का पन्जा ३’को पहिलो नम्बरमा र ‘हिजोआजका कुरा’को माया जदौजस्ता चर्चित गीतमा सङ्गीत दिनुभएको सङ्गीतकार हुनुहुन्छ, दीपक शर्मा । उहाँले लोक, आधुनिक, र चलचित्र गरेर अहिलेसम्म हजारभन्दा बढी गीतमा सङ्गीत भरिसक्नुभएको छ । श्रुति सङ्गीत विद्यालयदेखि लिएर गुरुराम सिटौला, गुरुदेव कामद, राजकुमार मालाकार, प्रेमचन्द्र ओझैया, किशोर गुरुङलगायतसँग सङ्गीतको ज्ञान लिइसक्नुभएका सङ्गीतकार शर्मासँग अहिलेको साङ्गीतिक अवस्थाबारे गोरखापत्रका लागि सुकृत नेपालले गर्नुभएको कुराकानी :

 

गीत–सङ्गीत क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?

मलाई बाल्यकालदेखि गीत–सङ्गीतमा रुचि भएकोले अनौपचारिक यात्रा सानैदेखिकै हो तर अपौचारिक यात्रा भने २०६१ सालतिर काठमाडौँ छिरेपछि भयो । 

तपाईंले सुरुमा सङ्गीत भर्नुभएको गीत कुन थियो ? 

मैले सुरुमा सङ्गीत भरेको गीत ‘ढल्के पीपल’ भन्ने लोकगीत थियो । त्यसपछि म साङ्गीतिक यात्रामा छलाङ मार्दै अघि बढेँ । मैले पहिलो गरेको चलचित्र भने ‘तेजाब’ हो ।

तपाईंले सङ्गीत भर्नुभएका केही चर्चित गीतको नाम बताउनुहोस् न ? 

चलचित्र मङ्गलमको ‘पर्खपर्ख मायालु’, छक्का पञ्जाको ‘देख न चम्पा’, छक्का पन्जा ३ को ‘पहिलो नम्बरमा’, हिजोआजका कुराको ‘माया जदौ’लगायत दर्जनौँ गीतमा मैले सङ्गीत गरिसकेको छु । 

अहिलेको परिवेशमा साङ्गीतिक क्षेत्रको अवस्था कस्तो देख्नुहुन्छ ?

यो समय भनेको प्रविधिले फड्को मारेको समय हो । त्यसैले पनि नेपालमा साङ्गीतिक क्षेत्रको अवस्था खासै नराम्रो छ जस्तो लाग्दैन । आफ्नो सिर्जनालाई श्रोतामाझ सुनाउन त्यस्तो गाह्रो छैन । अहिले मोबाइल फोन, र सामाजिक सञ्जालले धेरै सजिलो बनाइदिएको छ । पहिला त्यस्तो थिएन, सिमित मात्रामा मिडिया थिए । फेरि अहिले पहिलाभन्दा बढी प्रतिस्पर्धा पनि छ र जुन हुनु जरुरी पनि हो तर हामीकहाँ छिट्टै कमाउ र टन्न भरिभराउ भएर बसौँ भन्ने चलन छ, जुन राम्रो होइन । यो क्षेत्रमा प्रवेश गर्नका लागि सिकेर बुझेर आउन जरुरी छ । यो क्षेत्रमा लाग्न पनि सङ्गीत बुझेको हुनुपर्छ । हामीले यसो ग¥यौँ भने हाम्रो साङ्गीतिक क्षेत्रलाई अझ मजबुत बनाएर अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन सजिलो हुन्छ ।  

तपाईं दिनमा कतिवटा गीतमा साङ्गीतिक काम गर्नुहुन्छ ?

सङ्गीतमा यतिउति भन्ने हुँदैन । सङ्गीत भनेको मुडअनुसार गर्ने काम हो । कहिलेकाहीँ मुड भयो राम्रो शब्द भयो भने दुईदेखि चारवटा पनि बनाइन्छ । कुनै दिन एउटै पनि बनाइँदैन । एउटा सङ्गीतकारले गीतमा सङ्गीत भर्नुमात्र भन्दा पनि एउटा पूरा गीतमा सबै कुरा मिलेको छ कि छैन, त्यो हेर्नु जरुरी हुन्छ । एउटा गीतमा सङ्गीत दिनेभन्दा पनि त्यसलाई कस्तो शब्दले सजाउने, कसलाई उक्त गीतमा आवाज दिन लगाउने, कस्तो एरेन्ज गर्ने, मिक्सिङ कसलाई गराउनेलगायत थुप्रै कुरा छन् । एउटा गीतमा सङ्गीत दिँदा समय र अन्य धेरै कुराको ख्याल गर्नुपर्ने हुन्छ ।