• १० मंसिर २०८१, सोमबार

पशुपतिनाथमा अर्पण गरिएका सामग्रीहरूको बिक्री सुरु

blog

पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनले चढाएका सामग्रीहरूको बिक्री तथा खरिद गर्न पाइने कक्ष ।

काठमाडौं, असोज २८ गते । पशुपतिनाथमा भक्तजनहरूले चढाएका सामग्रीहरूको बिक्री सुरु गरिएको छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा भक्तजनहरूले अर्पण गरेका गहना, लत्ताकपडालगायतका जिन्सी सामग्रीहरूलाई बिक्री कक्षमार्फत बिक्री गर्न सुरु गरेको हो ।

कोषले पशुपति क्षेत्र परिसरबाट असोज २३ गतेदेखि बिक्री वितरण सुरु गर्न थालेको जनाएको छ । मन्दिरमा सङ्कलन भएका विभिन्न ३१ प्रकारका सामग्रीहरूलाई तोकिएको मूल्यमा बिक्री गर्न थालिएको पशुपति क्षेत्र विकास कोष संस्कृति, संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले बताउनुभयो ।

भक्तजनले श्रद्धाले चढाएका सामग्रीहरूलाई सर्वप्रथम कोषको गणना कक्षमा ३२ प्रकारका सामग्रीहरूलाई आम्दानीको रूपमा दाखिला गरिने र सोही सामग्रीहरू बिक्री कक्षमार्फत बिक्री गरिने उहाँले जानकारी दिनुभयो । उहाँले खद्दरको मोटो गम्छाको ११० रुपियाँ, खद्दरको सानो गम्छाको ५० रुपियाँ, सर्ट पिसको १०० रुपियाँ, शिल्कको रामनवमी खादा ५५ रुपियाँ, कुर्था कपडाको १५० रुपियाँ, चोलो कपडा ५० रुपियाँ, भुवादार रुमाल ठूलो ११० रुपियाँ र भुवादार रुमाल सानोलाई ४५ रुपियाँ मूल्य कायम गरिएको पनि उल्लेख गर्नुभयो ।

उहाँले पशुपति विकास कोषको आयलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित सामग्रीहरूको बिक्री गरिएको स्पष्ट पार्नुभयो । त्यसैगरी पशुपति क्षेत्र विकास कोषले प्रकाशन गरेका शिव महापुराणलगायत अन्य विभिन्न प्रकाशनहरूलाई पनि बिक्री गरिएको उहाँले जानकारी दिनुभयो । सामग्री रहुन्जेलसम्म मात्रै बिक्री गरिने पनि उहाँले उल्लेख गर्नुभयो ।

महाशाखा प्रमुख पराजुलीले मन्दिरमा जम्मा हुने नगद रुपियाँलाई बैङ्कमा दैनिक रूपमा जम्मा गर्ने गरिएको बताउनुभयो । उहाँले दानपेटीकाबाट उठेको रकम नेपाल इन्भेष्टमेण्ट बैङ्कमा सोही दिन दाखिला गर्ने, विशेष पूजाको रकम एसबिआई बैङ्कमा दाखिला गर्ने र तेस्रो देशबाट आएका भक्तजनबाट लिइने रकम सनराइज बैङ्कमा दाखिला गर्ने गरिएको जानकारी गराउनु भयो ।

पशुपतिनाथ मन्दिरका मुलभट्ट, भट्ट, भण्डारीहरू र कर्मचारीहरूलाई कोषमा जम्मा भएको रकमबाटै तलब तथा सेवा सुविधा दिइने गरिएको पनि उहाँले बताउनुभयो ।