• १५ वैशाख २०८१, शनिबार

महिला फुटबल : सावित्राको दोहोरो ह्याट्रिक

blog

महिला फुटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

अर्जुन काफ्ले

स्याङ्जा, असोज २८ गते । सावित्रा भण्डारीको दोहोरो ह्याट्रिक सँगै सशस्त्र प्रहरीको एपीएफ क्लबले महिला फुटबलमा सानदार जित निकालेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत वालिङमा शुक्रबार भएको खेलमा एपीएफले प्रदेश–१ लाई ७–१ गोलले हरायो ।

प्रतियोगितामा एपीएफको लागि भण्डारीले ६ गोल गर्नुभयो । अनिता केसीले एक गोल थप्नुभएको हो । प्रदेश–१ की अन्जना थुलुङले सान्त्वना गोल गर्नुभयो । सावित्राले २३औँ मिनेटमा खाता खोल्नुभएको थियो । उहाँले ४०औँ र ४५औँ मिनेटमा गोल गर्दै पहिलो हाफमै ह्याट्रिक पूरा गर्नुभयो ।

दोस्रो हाफमा अर्को ह्याट्रिक गर्नुभएकी सावित्राले ५१औँ, ५८औँ र ६५औँ मिनेटमा गोल गर्नुभएको हो । यसअघि अनिताले ६०औँ मिनेटमा एक गोल थप्नुभएको थियो । विपक्षी अन्जनाले २४औँ मिनेटमा गोल गर्नुभएको थियो । महिला फुटबलमा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता रहेको छ । महिला फुटबल कात्तिक २ गतेसम्म चल्नेछ ।