• १२ साउन २०८१, शनिबार

एक सातापछि लुक्ला उडान सुचारु

blog

रामेछापको मन्थली विमानस्थलबाट बिहीबार बिहान लुक्ला विमानस्थल जाने तयारीमा पर्यटकहरु । तस्बिर सौजन्यः गेल्जे शेर्पा

काठमाडौँ, असोज २७ गते । खराब मौसमको कारण रोकिएको सोलुखुम्बुको लुक्ला विमानस्थलको उडान बिहीबार देखी सुरु भएको छ । मौसममा सुधार आएसँगै सीता एयरले काठमाडौँ–लुक्ला र समिट एयर र तारा एयरले रामेछापको मन्थली–लुक्ला उडान सुरु गरेको हो । 

एक साता देखि उडान अवरुद्ध हुँदा मन्थलीमा करिब तीन सय बढी पर्यटक अलपत्र परेको माउन्टेन गाइड गेल्जे शेर्पाले जानकारी दिनुभयो । बिहीबार बिहानैदेखि समिट एयर र तारा एयरले पर्यटकलाई लुक्ला उडान थालेको उहाँले बताउनुभयो । पर्यटकको मुख्य सिजनमा लुक्ला विमानस्थलमा दैनिक २५ वटाभन्दा बढी उडान हुने गर्दछ । बिहीबार तारा, समिट र सीता एयरले करिब २० वटाभन्दा बढी उडान गर्ने तयारी रहेको तारा एयरका प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिनुभयो । 


विदेशी पर्यटकहरू सगरमाथा आधार शिविर, खुम्बु क्षेत्र र आमादव्लम लगायतका हिमालको आरोहण गर्न त्यसतर्फ हिँडेका थिए । केही सङ्ख्यामा पर्यटकहरू हेलिकप्टरमार्फत लुक्ला पुगेका थिए भने सल्लेरी हुँदै सडक मार्गबाट लुक्ला जानेहरूको बाटोमा भीड नै लाग्ने गरेको छ । पर्यटक पदयात्राका लागि यो मुख्य समय भएकाले पर्यटकहरूको आगमन दर पनि बढ्दो रहेको अध्यागमन विभागको तथ्याङ्क छ । कोरोना महामारीले ठप्प जस्तै भएको नेपालको पर्यटन क्षेत्र पछिल्लो महिनादेखि क्रमिक रूपमा सुधार आउन थालेको तथ्याङ्कहरुले देखाएको छ । 

सरकारले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेर करोडौँ रकम खर्च गरे पनि कोरोना महामारीका कारण सफल हुन सकेन तर यसै महिना मात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२३–२०३३ लाई पर्यटन दशकको रूपमा मनाउने लक्ष्य राखेर पर्यटन प्रवर्द्धनका गतिविधिलाई थप वढावा दिएको छ । 

Author
छेटु शेर्पा

शेर्पा, पर्यटन र समसामयिक विषयमा रिर्पोटिङ गर्नुहुन्छ।