• १३ असोज २०८१, आइतबार

‘वर्षाले कृषिमा गत वर्षभन्दा क्षति कम’

blog

काठमाडौँ, असोज २५ गते । विगत आठ दिनदेखिको बेमौसमी वर्षाका कारण कृषि तथा पशुपन्छी क्षेत्रमा क्षति पुगेको छ । यो लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशमा सबभन्दा बढी क्षति पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आइतबार सातवटै प्रदेशका कृषि मन्त्रालयलाई पत्राचार गर्दै वर्षाका कारण कृषि तथा पशुपन्छीमा परेको क्षतिको विवरण पठाउन आग्रह गरेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले जानकारी दिनुभयो । 

“पानी अझै परिरहेको छ, हालसम्म कति क्षति भएको छ, त्यसको यकिन तथ्याङ्क पनि आइसकेको छैन,” उहाँले भन्नुभयो, “प्रारम्भिक सूचनाअनुसार गत वर्षको जस्तो क्षति भएको छैन ।” गत वर्ष पाकिसकेको धान काट्न ठिक्क पारेको तथा कतिपय ठाउँमा काटिसकेको अवस्थामा बाढी आउँदा त्यसमा निकै क्षति भएको थियो । 

यस पटक धान पाकिनसकेकाले गर्दा त्यति क्षति देखिएको छैन तर वर्षा लगातार भइरह्यो भने क्षति बढ्न सक्ने उहाँले बताउनुभयो । लगातारको वर्षाका कारण बैतडीको सिगास गाउँपालिकामा मात्र २५ रोपनी धान खेत बगाएको छ । 

त्यस्तै म्याग्दीमा पनि कृषिमा क्षति पु-याएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । केन्द्रका अनुसार बेमौसमी वर्षा र हावाहुरीका कारण सयौँ हेक्टर जमिनमा लगाइएको धानबालीमा क्षति पुगेको छ । केन्द्रका अनुसार जिल्लाभर तीन हजार ८९२ हेक्टर जमिनमा धान खेती हुन्छ । 

प्रत्येक प्रदेशलाई यथाशक्य विवरण पठाउन भनिएको छ । विवरण आएपछि किसानको क्षतिपूर्ति अथवा राहतका बारेमा छलफल गरिने प्रवक्ता सञ्जेलले बताउनुभयो । 

गत वर्ष असोजको अन्तिममा आएका बेमौसमी वर्षाका कारण एक लाख ११ हजार हेक्टरमा लगाइएको धानमा मात्र करिब ११ अर्ब रुपियाँ बराबरको क्षति भएको थियो । सरकारले तथ्याङ्क सङ्कलन गरी किसानलाई राहत वितरण गरेको छ । राहत वितरण जारी रहेकै बेला धानमा पुनः क्षति पुगेको छ ।