• २० असोज २०८१, आइतबार

जडीबुटी निकासी नहुँदा व्यवसायी चिन्तित

blog

सिराज खान 

नेपालगञ्ज, असोज २५ गते । भारततर्फ निकासी गर्ने गरी नेपालगञ्जमा राखिएको ठूलो परिमाणको जडीबुटी अझै निकासी हुन नसकेको व्यवसायीले बताएका छन् । 

भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा नसमेटिएको भन्दै भारतले आयात अनुमति नदिएको हो । यसले करिब दुई हजार ५०० टन बढी जडीबुटी निकासी हुन नसक्दा नेपालगञ्जस्थित जडीबुटी व्यवसायी सङ्घमै थन्किएको छ । 

सङ्घका केन्द्रीय अध्यक्ष टङ्कप्रसाद शर्माले सरकारले जडीबुटी निर्यातमा सहजीकरण नगरेको आरोप लगाउनुभयो । उहाँले लामो समयदेखि राखिएको जडीबुटी निकासी नहुँदा कुहिने अवस्थामा पुगेकोले क्षतिको डरले व्यवसायी चिन्तित बनेको पनि बताउनुभयो । व्यवसायी रवीन्द्रनाथ शुक्लाले आफ्नो मात्रै करिब एक करोड रुपियाँ बराबरको उत्पादन थन्किएको गुनासो गर्नुभयो ।

सङ्घका अनुसार बाँकेमा जडीबुटीसम्बन्धी १२ उद्योग छन् । गत वर्ष पाँच हजार टन जडीबुटी निर्यात गरेको सङ्घले यस वर्ष हालसम्म दुई हजार टन मात्र जडीबुटी निर्यात गरेको छ । 

नेपालका विभिन्न जिल्लामा सङ्कलन गरिएको ३० प्रकारको जडीबुटी नेपालगञ्ज ल्याएर भारततर्फ निकासी हुँदै आएकामा भारतले नयाँ नियम देखाएर निकासीमा अवरोध गर्दै आएको जडीबुटी सङ्घका पूर्वअध्यक्ष याकुब अन्सारीले बताउनुभयो । 

जडीबुटी निकासीलाई सहज बनाउने हो भने लक्षित वर्गका किसानले बढीभन्दा बढी रोजगारी पाउने व्यवसायीलाई समेत लाभ पुग्ने अन्सारीको भनाइ छ । भारतीय भन्सारमा निर्यातमा समस्याका कारणले जडीबुटी व्यवसाय घट्दै गएको अधिकांश व्यवसायीको गुनासो छ ।