काठमाडौं, असोज २३ गते । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराउँदै हुनुहुन्छ । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा सदस्यका लागि आज सातौँ पटक डडेल्धुराबाट उम्मेदवारी दर्ता गराउन लाग्नुभएको हो ।
प्रधानमन्त्री देउवाको तर्फबाट उहाँकी धर्मपत्नी एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आज दिउँसो २ बजे मनोनयन दर्ता गराउनुहुने नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ ।
उम्मेदवारी दर्ताका लागि वारिसनामासहित प्रधानमन्त्री पत्नी डा. राणा शनिबार बेलुका नै डडेल्धुरा आइपुग्नुभएको थियो ।
प्रधानमन्त्री देउवा डडेल्धुराबाट विसं २०४८ मा पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । उहाँ त्यस यताका सबै आम निर्वाचनहरूमा निर्वाचित हुँदै आउनुभएको छ ।
उहाँले प्रतिनिधिसभाका लागि भएको पछिल्लो २०७४ सालको निर्वाचनमा डडेल्धुराबाट नै छैटौँ पटक निर्वाचित हुनुभएको थियो । विसं २०४८ यताका सबै निर्वाचनमा विजयी हुनुभएका देउवा आसन्न निर्वाचनमा पनि डडेल्धुराका जनताको साथ, समर्थन र मायाले आफ्नो इतिहासलाई कायम राख्दै निरन्तरता दिनुहुने प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाले बताउनुभयो ।
उहाँले भूगोलमा मात्र नभएर विकासमा नै पछि परेको सिङ्गो सुदूरपश्चिम क्षेत्रको सामाजिक, आर्थिकलगायत समग्र उन्नयनमा नेपाली कांग्रेसको एक प्रतिनिधिका रूपमा शेरबहादुर देउवाले आफ्नो राजनीतिक जीवनमा पुर्याउनुभएको उल्लेखनीय योगदानको स्मरण गरी उहाँलाई आगामी निर्वाचनमा पनि यहाँका नागरिकले पहिले जस्तै न्याय गर्नेमा आफू ढुक्क रहेको धारणा राख्नुभयो ।
यसअघि विसं २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा डडेलधुराबाट विजयी देउवा विसं २०६४ मा कञ्चनपुर–४ र २०७० मा कैलाली–६ बाट पनि विजयी हुनुभएको थियो ।
उहाँ विसं २०४८ मा सांसद बनेपछि गृहमन्त्री हुनुभएको थियो । विसं २०५१ को मध्यावधि निर्वाचनपछि बनेको मनमोहन अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेपछि २०५२ सालमा देउवाको नेतृत्वमा सरकार गठन भएको थियो ।
त्यसपछि २०५९, २०६१, २०७४, २०७८ मा गरी उहाँ पाँच पटक प्रधानमन्त्री हुनुभएको छ । आगामी मङ्सिर ४ गतेको निर्वाचनमा भने देउवालाई हालको सत्ता साझेदार गठबन्धनको पनि समर्थन रहेको छ । देउवासँगै तीन पटक प्रतिस्पर्धा गरेका नेकपा माओवादीका खगराज भट्ट अहिले प्रदेशसभाका लागि गठबन्धनबाटै चुनाव लड्दै हुनहुन्छ ।
डडेल्धुरा जिल्ला जहिले पनि प्रजातन्त्रका पक्षमा उभिएकाले प्रतिनिधिसभा र प्रदेशसभा गरी तीन वटै क्षेत्रमा अहिले पनि गठबन्धनका नेताले जित हासिल गर्ने कांग्रेसका जिल्ला सभापति भीमबहादुर साउँदले बताउनुभयो ।
उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामात्र नभएर सिङ्गो सुदूरपश्चिमको विकासमा आफ्नो जीवनकाल खर्चिनुभएकाले उहाँले उम्मेदवारी दिएपछि यहाँका नागरिकमा अर्को कुनै विकल्प नहुने धारणा राख्नुभयो । नेपाली कांग्रेसलगायत सत्ता गठबन्धन दलले उम्मेदवारी दर्ताको समय आज २ बजेका लागि तय गरिएको जनाएका छन् ।