• १३ वैशाख २०८१, बिहिबार

झिँगा मानाको साढे दुई रुपियाँ !

blog

काठमाडौँ, असोज २३ गते । आतङ्क लामखुट्टेले मात्र होइन, झिँगाले पनि सिर्जना गर्छ । यतिबेला लामखुट्टेबाट आतङ्कित बनेका नेपाली छ दशकअघि झिँगाबाट आतङ्कित बनेका थिए ।

घटना २०१५ साल साउन महिनाको हो । उपत्यकावासी हैजाको प्रकोपबाट आतङ्कित बनेका थिए । तत्कालीन काठमाडौँ नगरपालिकाले हैजा फैलिनुका कारण झिँगालाई ठह-याएको थियो । तत्कालीन स्वास्थ्यमन्त्री रणधीर सुब्बाको सभापतित्वमा २०१५ साल साउन २० गते बसेको हैजा निवारण कमिटीको बैठकले हैजा निवारण गर्न सरकारले उपलब्ध गराएको २५ हजार रुपियाँमध्ये छ हजार रुपियाँ उपत्यकाञ्चल कमिस्नर, दुई हजार रुपियाँ परोपकार संस्था, दुई हजार रुपियाँ पुलिस गोश्वाराका एसपी र एक हजार रुपियाँ कमिटीका सेक्रेटरीलाई खर्च गर्न दिने निर्णय ग-यो । स्वास्थ्य निर्देशक रघुवर वैद्य हुनुहुन्थ्यो ।

कमिटीको त्यो बैठकले ‘हालको हैजा मुख्यतः झिँगाद्वारा फैलिएको हुँदा प्रत्येक खाना बेच्ने पसलमा जाली राख्न लगाउने र नराखे वा राखी झिँगा भन्केको देखिएमा पनि पुलिसद्वारा उक्त खानेकुरा फालिदिने तथा पसलेलाई सजाय गर्ने’ निर्णय गरेको थियो । 

कमिटीले झिँगा मारी सहयोग गर्ने व्यक्तिलाई पुरस्कार प्रदान गर्ने निर्णय पनि ग¥यो । एक माना मारिएको झिँगा उपत्यकाभित्रका नगरपालिकामा बुझाएमा साढे दुई रुपियाँ पुरस्कार दिने र पुरस्कार एक महिनासम्म उपलब्ध गराइने निर्णय गरियो । 

हैजा थामिएकै थिएन । हैजाको प्रकोप बढ्दै गएपछि काठमाडौँ र ललितपुरमा क्षमापूजा पनि गरिए । विश्व स्वास्थ्य सङ्गठनले २५ हजार जनालाई पुग्ने हैजाविरुद्धको सुई उपलब्ध गरायो । इन्डियन एड मिसन र इन्डियन रेडक्रस सोसाइटीले पनि उपलब्ध गरायो । सोही सालको साउन १९ गतेसम्ममा ३२ हजार जनालाई सुई लगाइएको समाचार गोरखापत्रले छाप्यो ।

साउन २९ गते गोरखापत्रले झिँगा मार्ने काममा सर्वसाधारण जनताले निकै उत्साह देखाएको खबर छापेको थियो । खबरमा अगाडि लेखिएको थियो, “झिँगा मार्ने काममा खासगरेर १४ वर्षमुनिका केटाकेटीले निकै सहयोग गरेका छन् । काठमाडौँ नगरपालिकामा झिँगा बुझाउन ल्याउने ८० प्रतिशत केटाकेटी छन् ।” साउन २७ गतेसम्ममा काठमाडौँ नगरपालिकाले छ पाथी चार माना झिँगा किनी नष्ट गरिसकेको थियो । झिँगा दिउँसो १ देखि ५ बजेसम्म किन्ने गरिन्थ्यो ।

झिँगा मार्दै बेच्न ल्याउनेक्रम जारी रह्यो । गोरखापत्रले साउन ३१ गते ६८ हजारभन्दा बढीले सुई लगाइसकेको र काठमाडौँ तथा ललितपुर नगरपालिकामा दुई मुरीभन्दा बढी झिँगा आइसकेको खबर पनि छापेको थियो । भदौको पहिलो सातासम्ममा ९२ हजार जनाले सुई लगाइसकेका थिए । टेकु कलेरा अस्पतालमा भदौ ५ गतेसम्ममा ९३० जना बिरामीमध्ये ७६८ जना निको भई घर फर्किएका र १६२ जनाको मृत्यु भइसकेको थियो । विश्व स्वास्थ्य सङ्गठनका विशेषज्ञ अनुसन्धानका लागि नेपाल आइपुगे । उनीहरूले अनुसन्धानपछि इनावा र इगावा नामक कीटाणुद्वारा हैजा फैलिएको थियो भन्ने पत्ता लगाएका थिए । हैजा उपत्यकामा मात्र सीमित रहेन । नेपालगञ्ज, गोरखालगायतका स्थानमा पनि फैलिसकेको थियो । ठाउँ–ठाउँमा अस्थायी क्याम्प स्थापना गरी उपचार थालियो ।

स्वास्थ्य डाइरेक्टर रघुवर वैद्यले गोरखापत्रका समाचारदातासँग कुरा गरेर यस्तो धारणा राख्नुभएको थियो, “अन्तर्राष्ट्रिय प्रचलनअनुसार स्वास्थ्यको प्रमाणपत्र प्राप्त गर्न दुई पटक हैजाको इन्जेक्सन लिएको हुनैपर्छ ।”