• ११ मंसिर २०८१, मङ्गलबार

पहिरो खसेर कालीगण्डकी कोरिडोर अवरुद्ध

blog

रेखीराम राना

पाल्पा, असोज २२ गते । कालीगण्डकी कोरिडोर अन्तर्गत पीपलडाँडा–रामपुर सडक खण्डको सहदीखोला पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको छ । रम्भाको पीपलडाँडा र फोक्सिङकोटको सिमाना सहदीखोलामा डाँडा भाँसिएपछि कालीगण्डकी कोरिडोर अवरुद्ध बनेको हो । 

पहिरो खसेर कोरिडोरको ३५ मिटर बाटो पुरिएको र यातायात पूर्णरुपमा ठप्प भएको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो । अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । 

सडक अवरुद्ध बनेपछि रामपुर, रम्भा, स्याङ्जा तथा अन्य जिल्लामा जाने सवारीसाधन बाटोमा रोकिएका छन् । यस्तै, आर्यभन्ज्याङ–रामपुर सडकको ताहुँ जबगादी भएर रामपुर जाने सडकको सफेदमा ठूलो पहिरो खसेको छ । सोही सडकको गल्धा क्षेत्रमा पनि सडकमा पहिरो खसेको छ ।

अविरल वर्षासँगै खसेको पहिरोले पाल्पाको प्रमुख पर्यटकीयस्थल रानीमहल जाने सडक दुई दिनदेखि अवरुद्ध भएको छ । तानसेन–रानीमहल सडक खण्डको गाईघाट, हात्तीढंगा बैुकण्ठे भीर लगायतका स्थानमा पहिरो खसेको जनाइएको छ । वर्षा नरोकिएकाले पहिरो पन्छाउन नसकिएको स्थानीय प्रशासनको भनाइ छ ।