• १२ वैशाख २०८१, बुधबार

पहिरोले प्यूठानका अधिकांश सडक अवरुद्ध

blog

सलिम मिया

बिजुवार, असोज २१ गते । प्यूठान भालुबाङ सडकखण्ड अवरुद्ध भएको छ । लगातारको वर्षाको कारण पहिरो जाँदा गएरातिदेखि सडक अवरुद्व भएको हो।

प्यूठान भालुबाङ सडकखण्ड अन्तर्गतको खहरेखोला, सिमलचौर, चेरनेटा आसपासका विभिन्न ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

पहिरोले वैकल्पिक सडक र अधिकांश ग्रामीण सडकहरु समेत अवरुद्ध भएको प्यूठानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको देविस्थान, मुर्कुटी हुँदै दाङ झर्ने सडक र खलङ्गा, चुजाठाँटी हुँदै अर्घाखाँची जाने सडक समेत बिहानैदेखि अवरुद्ध भएको छ।

मुख्य बाटो अवरुद्ध हुँदा प्यूठान र रोल्पा आवतजावत गर्ने यात्रुहरुलाई सास्ती भएको छ । पछिल्लो समय मुख्य सडकसँग जोडेर खनिएका शाखा सडकबाट पानी पर्नासाथ ढुङ्गा माटोसहितको लेदो मुख्य सडकमा आउने गरेको स्थानीयले बताएका हुन् ।

पानीका बाबजुद पनि बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ । पहिरो पन्छाउन सकस भएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । लगातारको झरीले खहरे तथा नदीहरुमा पानीको सतह बढेको भन्दै सबै सचेत हुन स्थानीनय प्रशासनले आग्रह गरेको छ ।