• ४ वैशाख २०८१, मङ्गलबार

लगातार वर्षापछि आएको पहिरोले घर पुरियो, पशुचौपाया मरे

blog

पहिराले क्षति गरेको रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा –६ बाँठाकोटका पदमबहादुर घर्तीको घर । तस्बिर : राजु लामिछाने

राजु लामिछाने 

रुकुम पश्चिम, असोज २० गते । लगातारको वर्षाका कारण आएको पहिरोले रुकुम पश्चिममा एक घर पुरिएको छ । घरका पशुचौपाया मरेका छन् । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका –६ बाँठाकोटमा पहिरो आउँदा स्थानीय पदमबहादुर घर्तीको घर पुरिएको हो । लगातारको वर्षापछि आएको पहिरोले बुधबार राति घर्तीको दुई तले घर पुरिएर क्षति पुगेको प्रहरीले जनाएको छ ।  

वडा अध्यक्ष भद्रबहादुर श्रीपालिका अनुसार घरभन्दा माथिबाट आएको पहिरोले पुरिएर घर्तीको घर भत्किएको छ । परिवारका लत्ता कपडा र खाद्यान्नमा पनि क्षति भएको छ । पहिरोले घरमा बाँधेर राखेको एउटा बाख्रा पुरिएर मरेको छ । १५ वटा कुखुरा पुरिएको वडा अध्यक्ष श्रीपालिले जानकारी दिनुभयो । पीडितको पाँच जनाको परिवार अहिले आफन्तको घरमा शरण लिएर बसिरहेका छन् ।

त्यसैगरी सोही गाउँमा गंगाराम घर्तीको एउटा गोरु पहिरोमा पुरिएर मरेको छ । भकारोमा बाँधेको एउटा गोरु माथिबाट आएको पहिरोले पुरिएर मरेको छ । बुधबार राति नै सोही वडाको झ्यामखोलाका धनबहादुर ओलीको गोठ पहिरोले पुरिएको छ । 

वर्षाका कारण आएको पहिरोले गाउँपालिका भित्रका सबै स्थानीय सडक बन्द भएका छन् । ग्रामीण तथा कृषि सडकहरू पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको र आवतजावत कठिनाइ भएको स्थानीयले बताएका छन् ।