• १२ वैशाख २०८१, बुधबार

च्याम्पियन लिग : लिभरपुल र बायर्नको सानदार जित

blog

रेन्जर्सविरुद्ध गोल गरेपछि लिभरपुलका मोहमद सलाह । तस्बिर : एएफपी

काठमाडौं, असोज १९ गते । लिभरपुल र बायर्न म्युनिखले च्याम्पियन लिग फुटबलमा सानदार जित निकालेका छन् । समूह ‘ए’ अन्तर्गत मंगलबार राति भएको खेलमा लिभरपुलले  रेन्जर्सलाई २-० गोलले हरायो । समूह समूह ‘सी’को खेलमा बार्यनले भिक्टोरिया प्लेजेनलाई ५-० गोलले स्तब्ध बनायो । 

लिभरपुलको जितमा ट्रेण्ड एलेक्सजेण्डर आर्नोल्ड र मोहमद सलाहले एक एक गोल गर्नुभयो । सातौँ मिनेटमा आर्नोल्डले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाउनुभयो । ५३औँ मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई जिताउनुभयो । 

जितसँगै लिभरपुल समूहको दोस्रो स्थानमा छ । लिभरपुलले तीन खेलबाट ६ अङ्क बनाएको छ । पराजित रेन्जर्स अङ्कविहीन बन्दै अन्तिममा छ । यसै समूहको अर्को खेलमा नेपालीले आयाक्सलाई ६-१ गोलले हराएको छ । 

यसैगरी बायर्नको जितमा लेरोई सानेले दुई गोल गर्नुभयो । सेर्जी जिनाब्री, साडियो माने र एरिक म्याक्सिम मोटिङले एक एक गोल गर्नुभयो । सातौँ मिनेटमा सानेले गोल गर्दै बायर्नलाई अग्रता दिलाउनुभयो ।

१३औँ मिनेटमा जिनाब्रीले टिमको अग्रता दोब्बर बनाउनुभयो । मानेले २१औँ मिनेटमा गोल गर्दै पहिलो हाफमै बायर्नको अग्रता बलियो बनाउनुभयो । ५०औँ मिनेटमा सानेले व्यक्तिगत दोस्रो गोल गर्नुभयो ।

५९औँ मिनेटमा एरिकले गोल गर्दै बायर्नलाई फराकिलो जित दिलाउनुभयो । जितसँगै बायर्न शीर्षस्थानमा छ । बायर्नले तीन खेलबाट नौ अङ्क बनाएको छ । अङ्कविहीन भिक्टोरिया प्लेजेन अन्तिममा छ । 

मंगलबार राति नै भएको अन्य खेलमा बार्सिलोना इन्टरमिलानसँग १-० गोलले पराजित भएको छ । मार्सेलीले रिपोर्टिङ सिपीलाई ४-१, एफसी पोर्तोले वायर लिभरकुशेनलाई तथा क्लब बर्गले एट्लेटिको म्याड्रिडलाई समान २-० गोलले पराजित गरेको छ । टोट्टनहाम र इन्ट्याक्ट फ्राङ्कफर्टले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ । एजेन्सी