• १३ साउन २०८१, आइतबार

कोसेलीमा ब्राण्ड बनेको मुस्ताङको स्याउ

blog

कोसेलीका रुपमा तयार भएको मुस्ताङको स्याउ । तस्बिर : रासस

गलकोट, असोज १७ गते। बागलुङका हरेक फलफूल पसलमा मुस्ताङको स्याउ पाइन्छ। अघिपछि भारत र चीनबाट आएको स्याउ बिक्री गर्ने यहाँका व्यापारीहरूले समेत दसैँ तिहारमा मुस्ताङको स्याउको ठूलो मात्रामा कारोबार गर्छन्। 

दशैं तिहारको अवसरमा बागलुङेहरूले कोसेलीका रूपमा मुस्ताङको स्याउ आफन्तको घरमा पठाउने चलन छ। हिमालपारिको जिल्ला मुस्ताङबाट आयात गरिएको च्याङ्ग्रा र स्याउ नवविवाहित जोडीले कोसेलीका रूपमा माइत लैजाने चलनका कारण समेत बागलुङमा मुस्ताङको स्याउ बिक्री गर्नका लागि व्यापारीहरूलाई भ्याइनभ्याइ भएको हो। सक्नेले च्याङ्ग्रासहित स्याउ कोसेली लैजाने भए पनि नसक्नेले मुस्ताङको स्याउमात्रै लैजाने प्रचलन छ। 

दशैं तिहारलाई मुस्ताङमा भ्रमणको उपयुक्त सिजनका रूपमा लिइँदै आइएको छ। मुस्ताङ भ्रमणमा पुगेका अधिकांशले फर्कने समयमा मुस्ताङको स्याउ लिएरै आउँछन्। बागलुङसहित धौलागिरिका म्याग्दी, मुस्ताङ, पर्वतलगायतका जिल्लामा कोसेलीको रूपमा खुबै प्रयोग हुन्छ मुस्ताङी स्याउ। 

अहिले बजारमा मुस्ताङको स्याउको कारोबार उच्च रहेको फलफूल व्यापारी शङ्कर रेग्मीले बताउनुभयो। “अघिपछि स्याउ खरिद गर्छन् लैजान्छन्, कहाँको हो कसैले सोधपुछ गर्दैन, तर दसैँ तिहारमा मुस्ताङको स्याउबाहेक अन्य स्याउ बिक्री हुँदैन” रेग्मीले भन्नुभयो “स्वादिष्ट भएर पनि होला, मुस्ताङको स्याउनै कोसेली हो भन्ने भइसकेको छ बागलुङमा।”

दशैं सुरु भएपछि मात्रै छ लाखभन्दा बढीको स्याउ बिक्री गरेको रेग्मीको भनाइ छ। रेग्मीले स्याउ मात्रै नभई मुस्ताङको आलुको समेत बजारमा उच्च माग रहेको बताउनुभयो। उहाँले पर्वतको बनौँ, बागलुङको ढोरपाटन, ताराखोलालगायतका क्षेत्रमा पाइने आलु समेत बिक्री गर्दै आउनुभएको छ।

बागलुङका दुई दर्जन व्यापारीले मुस्ताङको स्याउको बागलुङ बजारमा आयात गर्दै आएका छन्। अहिले मुस्ताङी स्याउ प्रतिकेजी रु १७० मा बिक्री हुँदै आएको छ। 

मुस्ताङको स्याउ जस्तै आलुसमेत निकै स्वादिष्ट भएकाले महँगो भए पनि खरिद गरेर उपभोग गर्ने गरेको र दसैँ तिहारमा कोसेलीका रूपमा निकै प्रयोग गरिने स्थानीयवासी राजेश घर्तीले बताउनुभयो।

ताराखोला र ढोरपाटनको आलु समेत बागलुङबाट पोखरा लगायतका क्षेत्रमा निकासी हुने गरेको छ। तर बागलुङ जिल्लामा मुस्ताङको आलु तथा स्याउ यति नै भित्रिन्छ भन्ने यकिन तथ्याङ्क नभए पनि जिल्लामा धेरै मात्रमा मुस्ताङको स्याउ आयात हुने गरेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त ढकाल बताउनुहुन्छ। 

बागलुङ बजारमा कर्मचारी, सरकारी जागिरे, सेना, तथा प्रहरीले समेत घर जाने समयमा मुस्ताङको स्याउ, आलु र बागलुङमा उत्पादन भएको भाङ्गो लैजाने प्रचलन बढ्दो छ। दसैँ तिहारमा छुट्टीमा घर जान लागेका कर्मचारीका परिवारले समेत स्याउ र आलु ल्याउन आग्रह गर्ने गरेको फलफूल व्यापारीहरूले बताउँदै आएका छन्।

बागलुङ सरुवा भएर आउने जुनसुकै कर्मचारीलाई घरबाट मुस्ताङको स्याउ, ढोरपाटनको आलु र ताराखोलाको भाङ्गो किनेर ल्याउने सुझाव आउने गरेको छ। दसैँमा आफन्तकहाँ टीका र आशीर्वाद ग्रहण गर्न जाँदा समेत स्याउको कोसेली लगेर जाने प्रचलन भएकाले दसैँ तिहारमा फलफूलको उच्च माग हुने गरेको छ।