• १३ साउन २०८१, आइतबार

सुर्खेतमा तालिम प्राप्त कुकुर परिचालन

blog

तालिम प्राप्त कुकुरसहित प्रहरी टोलीले चेकजाँच गर्दै

नवीन सुवेदी

सुर्खेत, असोज १५ गते । कर्णालीमा चाडपर्वका बेलामा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेशभर चार हजार १४१ जना प्रहरी  परिचालन गरिएको छ भने सुर्खेतमा तालिम प्राप्त कुकुर परिचालन गरिएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी माधवप्रसाद श्रेष्ठका अनुसार सुर्खेतमा सुरक्षा व्यवस्थालाई कडा पार्न दुई वटा तालिम प्राप्त कुकुर सुर्खेत ल्याइएको छ । 

प्रदेश राजधानी वीरेन्द्रनगरमा आपराधिक क्रियाकलाप बढी हुने गरेका छन् भने लागूऔषध कारोबार पनि धेरै हुने गरेको प्रहरीको निष्कर्ष छ । सोही कुरालाई विचार गरेर एउटा लागू औषध .सम्बन्धी र एउटा विस्फाेटक पदार्थ, हातहतियारसम्बन्धी चेकजाँच गर्ने कुकुर ल्याइएको श्रेष्ठले बताउनुभयो । कर्णालीको प्रवेशद्वार भनेको बबई, छिन्चु हो ।

चाडपर्वको समयमा कुनै हातहतियारहरू, विस्फोटक पदार्थ र लागूऔषध कारोबार हुन्छ कि भनेर पूर्व तयारीस्वरुप कुकुर परिचालन गरिएको छ । शुक्रबार छिन्चु कोहलपुर–सुर्खेत वीरेन्द्रनगर, सल्यान, जाजरकोट जाने सवारी साधनको चेकजाँच गरिएको थियो भने शनिबार राजधानी वीरेन्द्रनगरमा कुकुर ल्याइएको छ ।  

प्रवक्ता श्रेष्ठका अनुसार सुर्खेत बाहेक अन्य जिल्लामा कुकुर परिचालन गरिने छैन । अन्य जिल्लाहरूमा सुरक्षा व्यवस्थालाई कडा पार्नका लागि प्रहरी परिचालन गरिएको छ ।

दसैँको समयमा कसैले हातहतियारहरू, विस्फाेटक पदार्थहरू ओसारपसार हुन सक्छ कि भनेर कुकुर परिचालन गरिएको उहाँले बताउनुभयो ।