• २६ वैशाख २०८१, बुधबार

निजामती सेवामा प्रवेश

स्याङ्जा पहिलो मनाङ शून्य

blog

काठमाडौँ, असोज १४ गते । बितेको एक वर्षमा निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने जिल्ला स्याङ्जा बनेको छ । मनाङबाट भने वर्षभरिमा एक जना पनि कर्मचारी निजामती सेवामा प्रवेश गरेका छैनन् । 

बिहीबार राष्ट्रपति विद्यादेवी 

भण्डारीसमक्ष लोकसेवा आयोगको बुझाएको ६३औँ प्रतिवेदनअनुसार एक वर्षमा स्याङ्जाका १२२ जना निजामती सेवामा प्रवेश गरेका छन् । निजामती सेवामा धेरै सङ्ख्यामा प्रवेश गर्ने दोस्रो जिल्ला काठमाडौँ रहेको छ । काठमाडौँका ११४ जना व्यक्ति निजामती सेवामा प्रवेश गरेका छन् । त्यस्तै तेस्रो, चौथो र पाँचौँ जिल्लामा क्रमशः गुल्मी, मोरङ र अर्घाखाँची छन् । ती जिल्लाबाट निजामती सेवामा प्रवेश गर्नेहरू क्रमशः १०५, ६९ र ६८ जना छन् । 

धनुषा, पर्वत, कास्की, दाङ, झापा र सुर्खेतबाट क्रमशः ६७, ६६, ६४, ६४, ६३ र ६१ जना निजामती सेवामा प्रवेश गरेका छन् । आयोगले आर्थिक वर्ष २०७८/७९ को अवधिमा तीन हजार ७२७ पदका लागि एक हजार ३९७ वटा विज्ञापन गरेको थियो । जसमा खुला तथा बढुवा प्रणालीबाट दुई हजार ६७२ जना उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएका थिए ।  आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीका अनुसार यी विज्ञापनका लागि सप्तरीबाट सबैभन्दा धेरै अर्थात् १५ हजार ५४३ जनाले आवेदन दिएका थिए । त्यस्तै धनुषा, सर्लाही, महोत्तरी र सिराहाबाट क्रमशः १३ हजार ७०२, १३ हजार १४, १२ हजार ४६३ तथा ११ हजार ८७३ जनाले आवेदन दिएका थिए ।

त्यस्तै सबैभन्दा न्यून दरखास्त पर्ने पाँच जिल्लामा मनाङ, मुस्ताङ, रसुवा, डोल्पा र मुगु छन् । यी जिल्लाबाट कुल दुई हजार ३४८ अर्थात् ०.६४ प्रतिशत मात्र दरखास्त परेको छ ।

आयोगले निजामती सेवाका साथै आर्थिक वर्ष २०७३/७४ देखि सुरक्षा निकाय तथा सङ्गठित संस्थाहरूको पदपूर्तिका लागि पनि लिखित परीक्षा सञ्चालन गर्दै आएको छ । हाल सुरक्षा निकायसहित ९५ वटा संस्था-निकायको पदपूर्ति प्रक्रियामा आयोगको संलग्नता छ । 

आयोगले उक्त प्रतिवेदन बिहीबार राष्ट्रपतिसमक्ष पेस गरेको छ । संविधानमा व्यवस्था भएअनुरूप आयोगले २०१६ सालदेखि हरेक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रप्रमुखसमक्ष पेस गर्दै आएको छ । प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आयोगले जनताको आस्था र विश्वासको धरोहरका रूपमा काम गरिरहेको बताउनुभयो ।  उहाँले आयोगको कामको प्रशंसा गर्दै सार्वजनिक प्रशासनलाई स्वच्छ र समावेशी बनाउन आयोग सफल हुनेमा विश्वास व्यक्त गर्नुभयो । 

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।