• १२ वैशाख २०८१, बुधबार

भ्रष्टाचारको प्रभाव कम्युनिस्ट आन्दोलनमा देखा पर्दैछ : अध्यक्ष नेपाल

blog

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल । फाइल तस्बिर

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजमा विद्यमान भ्रष्टाचारको अन्त्य गर्न जरुरी रहेको बताउनुभएको छ।

अखिल नेपाल महिला सङ्घ समाजवादीद्वारा विभिन्न पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले राजनीतिक र प्रशासनिक क्षेत्रमा भइरहेका भ्रष्टाचारले अन्तर्राष्ट्रिय तहमा नेपालको छवि नकारात्मक बनेको बताउनुभयो।

राजनीतिमा फैलिएको यस्तो रोग कम्युनिष्ट आन्दोलन र आफ्नो पार्टीमा पनि देखापरेको उहाँको भनाइ थियो। “अवसर पाइन्न भन्ने लाग्यो भने तुरुन्तै अन्तै हाम फल्ने प्रवृत्ति देखिएको छ। यी सबै चिजबाट होसियार हुनुपर्छ”, उहाँले भन्नुभयो, “हाम्रो मुख्य उद्देश्य नै समाजवाद हो। सबै खालका विभेद, अन्याय अत्याचार, अन्त्य गर्नुपर्छ। त्यसका लागि शक्ति निर्माण गर्नुपर्छ।”

पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राज्यका हरेक तहमा महिला प्रतिनिधित्व वृद्धि गर्न र आसन्न चुनावमा उनीहरुको उम्मेदवारी बढाउन माग गर्नुभयो। रासस