• ६ वैशाख २०८१, बिहिबार

बाँकेमा चाडपर्व र निर्वाचन लक्षित विशेष सुरक्षा योजना लागू

blog

जिल्ला प्रहरी कार्यालय बाँके । फाइल तस्बिर

सिराज खान
नेपालगञ्ज, असोज १२ गते ।
दशैँ, तिहार र छठलगायतका चाडपर्व तथा आसन्न निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गर्न बाँकेमा विशेष सुरक्षा योजना लागू गरिएको छ ।

चाडपर्वहरुमा हुनसक्ने विभिन्न अपराधिक घटना रोक्ने तथा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने लक्ष्यसहित बाँकेमा विशेष सुरक्षा योजना लागू गरिएको हो ।

चाडपर्व र निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गर्नुका साथै विभिन्न प्रकारका अपराध र गैर कानुनी कार्य रोक्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय बाँकेले विशेष सुरक्षा योजना तयार पारेर लागू गरेको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

उहाँले भारतीय सीमानासँग गाँसिएको बाँके जिल्ला सधैँ जसो सुरक्षा चुनौतीमा रहने गरेको जनाउनुहुँदै सो कुरालाई ध्यानमा राखेर थप प्रहरी परिचालन गरिएको पनि जानकारी दिनुभयो ।

‘‘चाडपर्व र निर्वाचनको रौनक सुरु भएसँगै हामीले विशेष सुरक्षा योजना बनाएर लागू गरेका छौं,’’ एसपी अधिकारीले भन्नुभयो, ‘‘सोहीअनुसार सहरदेखि गाउँसम्म प्रहरी परिचालन भइसकेका छन् ।’’

दुई चरणको सुरक्षा योजना बनाएको जनाउँदै पहिलो चरणमा दशैँ र तिहारको समयमा हुनसक्ने चोरी, डकैती, अपराधलगायतलाई न्यूनीकरण तथा नियन्त्रण गर्ने र दोस्रो चरणमा निर्वाचन केन्द्रित सुरक्षाका लागि विशेष सुरक्षा योजना बनाएर कार्यान्वयनमा ल्याएको जिल्लाका प्रहरी प्रमुख अधिकारीको भनाइ छ ।

सो विशेष सुरक्षा योजना कार्यान्वयनका लागि जिल्लाभर एक हजार ५९ जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

विशेष सुरक्षा योजनाअन्तर्गत एकजना प्रहरीले दैनिक १६ घण्टा ड्युटी गर्नुपर्नेछ । यसअघि दैनिक ८ देखि १२ घण्टासम्म ड्युटी गर्दै आइरहेका प्रहरीलाई १६ घण्टा ड्युटीमा खटाइने योजना बनाइएको छ ।

बाँके प्रहरी प्रमुख एसपी अधिकारीका अनुसार सुरक्षाका लागि पिकेट, हाइवे चेकिङ, एम्बुस चेकिङ, डग स्न्यापिङ, विशेष टोली (सादा पोसाक), सरप्राइज चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती, सीसीटिभी निगरानी, स्कटिङ, काउन्टरपार्ट्स र क्वीक रिस्पोन्स टिम परिचालन भएका छन् ।

चाडपर्वमा सहरभन्दा गाउँघरमा मानिसहरुको चहलपहल बढी हुने भएकाले गाउँमा समेत सुरक्षालाई बलियो बनाइएको प्रहरीले जनाएको छ ।

विशेष सुरक्षा योजनाअन्तर्गत अपराध बढी घटेका स्थान र घट्न सक्ने सम्भावित स्थानलगायतमा सादा पोसाकमा पनि प्रहरी परिचालन, सूचना सङ्कलन तथा उच्च निगरानी सुरु गरिएको जनाइएको छ ।

यसैबीच चाडपर्वको बेला कोहलपुरमा चोरीका घटना बढेपछि कोहलपुर बजार क्षेत्रमा पनि थप प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी ऐनबहादुर मल्लले चोरीका घटना बढ्न थालेपछि परिचालन गरिएको थप टोलीले चेकिङ, अप्रेसनलगायतका काम सुरु गरेको बताउनुभयो ।