• १५ चैत २०८०, बिहिबार

अञ्जन विष्टको ह्याट्रिकसँगै बङ्गलादेशमाथि नेपालको सानदार जित

blog

गोल गरेपछि खुशी मनाउँदै अन्जन विष्ट ।

काठमाडौं, असोज ११ गते । अञ्जन विष्टले ह्याट्रिक गरेपछि नेपालले बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेलमा सानदार जित निकालेको छ । दशरथ रङ्गशालामा मंगलबार साँझ भएको खेलमा नेपालले बङ्गलादेशलाई ३-१ गोलले हरायो ।

नेपालले सबै गोल पहिलो हाफमा गरेको थियो । नेपालको जितमा अञ्जन विष्टले पहिलो हाफमै ह्याट्रिक पूरा गर्नुभएको हो । १८औँ मिनेटमा खाता खोल्नुभएका अञ्जनले २७औँ र ३८औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्नुभएको थियो । उहाँ अन्तर्राष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने नेपालका छैटौँ खेलाडी समेत बन्नुभएको छ ।

यसअघि नेपालका लागि गणेश थापा, नरेश जोशी, निराजन राइमाझी,भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गर्नुभएको थियो । यससँगै अञ्जनले राष्ट्रिय टोलीका लागि व्यक्तिगत १० गोल गर्नुभएको छ । बङ्गलादेशका लागि सजाद होसेनले ५५औँ मिनेटमा एक गोल गर्नुभयो । 

यसैबीच बंगलादेशविरुद्ध खेलबाट नेपालका ऋतिक खड्का र आशिष् चौधरीले राष्ट्रिय टोलीमा डेब्यू गर्नुभएको छ । ऋतिक ८१औँ मिनेटमा सेसेहाङ आङ्देम्वेको स्थानमा तथा आशिष् विमल घर्तीमगरको स्थानमा मैदान प्रवेश गर्नुभएको थियो ।