• ८ वैशाख २०८१, शनिबार

छोटी भन्सार नहुँदा राजस्व चुहावट

blog

फाइल तस्बिर

सिराज खान 

नेपालगञ्ज, असोज ११ गते । सशस्त्र द्वन्द्वका बेला बन्द गरिएको छोटी भन्सार कार्यालय पुनस्र्थापना नहुँदा ठूलो परिमाणमा राजस्व चुहावट भइरहेको छ । बाँके जिल्लाका विभिन्न नाकामा स्थापना गरिएको सातवटा छोटी भन्सार कार्यालय सशस्त्र द्वन्द्वका बेला बन्द गरिएकामा हालसम्म पनि पुनः सञ्चालनमा नल्याइएका कारण ती नाकाहरू अवैध आयात निर्यातको केन्द्र बन्दै गएका छन् । 

नेपालगञ्ज भन्सार कार्यालयका अनुसार बाँकेको सुइया बगौडास्थित कटकुइया, नरैनापुर, भगवानपुर, खडैचा होलिया, हिरमिनियाको भघोटना, साई गाउँ र साई गाउँ पश्चिमतर्फको उढरापुर नाकामा छोटी भन्सार कार्यालय रहेका थिए । तर, लामो समयदेखि कार्यालय पुनस्र्थापना नहुँदा अधिकांश छोटी भन्सार कार्यालयका भौतिक संरचना काम नलाग्ने गरी जीर्ण अवस्थामा पुगेका छन् । नरैनापुर, खडैचा, साई गाउँमा छोटी भन्सार रहेका भवन अहिले भत्किएर काम नलाग्ने अवस्थामा पुगेको भन्सार कार्यालयले जनाएको छ । 

गाउँको बाटोबाट भित्रिने मालसामानको भन्सार गर्ने छोटी भन्सार पुनःस्र्थापना नगरिँदा भारतसँग सीमा जोडिएका गाउँको बाटोबाट खुलेआम तस्करी हुने गरेको स्थानीयवासीको भनाइ छ । बाँकेको सीमाना भारतसँग ६५ किलोमिटर खुला रहेको छ । साइड नाकाहरूमा नेपाली सुरक्षाकर्मीको पातलो उपस्थिति रहेकाले गर्दा भन्सार छली निकै हुने गरेको नरैनापुरका स्थानीय सज्जाद खाँले बताउनुभयो । 

छोटी भन्सार नहुँदा राजस्व चुहावट लामो समयदेखि हुँदै आएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले पनि बताउनुभयो । उहाँले छोटी भन्सार पुनस्र्थापनाका लागि पटकपटक आग्रह गरिए पनि सुनुवाइ नभएको बताउनुभयो । 

आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यको ८८.५ प्रतिशत मात्रै राजस्व असुली गरेको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा २५ अर्ब २१ करोड २६ लाख ६२ हजार रुपियाँ राजस्व असुली गर्ने लक्ष्य राखेकामा २२ अर्ब ३१ करोड २६ लाख अर्थात् ८८.५ प्रतिशत मात्र असुली गर्न सकेको भन्सार कार्यालय नेपालगञ्जका अधिकृत प्रवीण लिम्बूले बताउनुभयो । उहाँले चालू आर्थिक वर्षको हालसम्म पनि हरेक महिनामा लक्ष्यभन्दा कम राजस्व सङ्कलन भइरहेको बताउनुभयो । 

गत महिना बाँकेको भारतसँग सिमाना जोडिएको नरैनापुर क्षेत्रको भ्रमणमा जानुभएका अर्थमन्त्री जनार्दन शर्माले सशस्त्र द्वन्द्वका बेला विस्थापित भएका छोटी भन्सार पुनः सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभएको थियो ।