• २० असोज २०८१, आइतबार

खसीबोकाको स्वास्थ्य परीक्षण आजबाट सुरु

हरियो स्टिकर खानयोग्य, रातो स्टिकर अयोग्य

blog

लक्ष्मी सापकोटा

काठमाडौँ, असोज ११ गते  । उपत्यकामा विभिन्न १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गरिने भएको छ । पशुुसेवा विभागले मङ्गलबारदेखि खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो । दशैँमा उपभोक्ताको स्वास्थ्यमाथि असर पर्ने अस्वस्थकर खसीबोका भित्रिन सक्ने हुनाले स्वास्थ्य परीक्षण गर्न लागेको हो । 

पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले बिरामी, अस्वस्थकर खसीबोका भित्रन सक्ने हुँदा विभिन्न १० ठाउँबाट स्वास्थ्य परीक्षण गरिने जानकारी दिनुभयो । स्वास्थ्य परीक्षण गरेर स्वस्थकर खसीबोकाको सिङमा हरियो र अस्वस्थकरको सिङमा रातो रङको स्टिकर लगाइने उहाँले जानकारी दिनुभयो । खसीबोकाको सिङमा रातो स्टिकर लगाएको अस्वस्थकर हुने हुँदा उपभोक्तालाई खरिद नगर्न उहाँले आग्रह गर्नुभयो ।  मङ्गलबारदेखि नवमीको दिनसम्म ५० जना पशु चिकित्सकको टोलीले विभिन्न ठाउँमा गएर खसीबोकाको स्वास्थ्य परीक्षण गरिने उहाँले जानकारी दिनुभयो । 

विभागले कलङ्की, टुकुचा, चन्द्रागिरि, चाल्नाखेल, बालाजु, टोखा, बल्खु, लोकन्थली, सल्लाघारीमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने विभागले जनाएको छ । दशैँमा उपत्यकामा खसीबोकाको खपत धेरै हुनेहुँदा अस्वस्थकर खसीबोका भित्रन सक्ने हुँदा आयात हुने मुख्य नाकासँगै अन्य ठाउँमा विभागले स्वास्थ्य परीक्षण गर्न लागेका हो । 

बजारमा अस्वस्थकर खसीबोका भित्रिन सक्ने भन्दै पशुसेवा विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, काठमाडौँ महानगरपालिकालगायत अन्य निकायको सहभागितामा मङ्गलबारदेखि संयुक्त रूपमा बजार अनुगमन गर्न लागिएको विभागले जनाएको छ । 

यस पटक दशैँमा उपत्यकामा ५० देखि ६० हजार सङ्ख्यामा खसीबोका खपत हुने अनुमान गरिएको छ । गत वर्ष ५० हजारको हाराहारीमा खपत भएको थियो । सामान्य अवस्थामा उपत्यकामा दैनिक एक हजारदेखि एक हजार दुई सय सङ्ख्यामा माग हुने गरेकामा दशैँको सप्तमी, अष्टमी र नवमीमा सबैभन्दा धेरै ५० देखि ६० हजार सङ्ख्यामा बिक्री हुने विभागको अनुमान छ । 

चौपाया खरिद सेवा सङ्घका अध्यक्ष दीपक थापाले घटस्थापनादेखि दशैँलाई लक्षित खसीबोकाको बिक्री गरिने जानकारी दिनुभयो । दशैँमा बजारमा खपत धेरै हुने हुँदा स्थानीय उत्पादन ७० प्रतिशत र ३० प्रतिशत आयात गर्र्ने गरेको उहाँले जानकारी दिनुभयो । व्यवसायीले जाजरकोट, सल्यान, बैतडी, डडेल्धुरा, अछाम, नेपालगञ्ज, गुल्मी, पाल्पा, झापा, इलाम, ओखलढुङ्गालगायतका अन्य जिल्लाबाट खरिद गरी उपत्यकामा ल्याएर खसीबोका बिक्री गर्ने गर्छन् । यस्तै भारतको लखनउ, हरियाणा, राजस्थानबाट खसी ल्याउने गरेको उहाँले जानकारी दिनुभयो । व्यवसायीका अनुसार हाल बजारमा जिउँदो खसीको मूल्य प्रतिकेजी ६३० देखि ६५० रुपियाँ रहेको छ । गत वर्ष प्रतिकेजी ५८० देखि ६३० रुपियाँसम्म रहेको थियो । 

यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मङ्गलबारदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने भएको छ । घटस्थापनादेखि बिक्री गर्ने भनिए पनि जिल्लाबाट आइनपुगेकाले मङ्गलबारदेखि बिक्री खुला गर्ने भएको हो । दाङ, धादिङ, हेटौँडाबाट खसीबोका र दार्चुलाबाट च्याङ्ग्रा ल्याउन लागिएको कम्पनीले जनाएको छ । पाँच सय सङ्ख्यामा च्याङ्ग्रा खरिद गरेर बाटोमा आउँदै गरेको कम्पनीले जनाएको छ ।  कम्पनीले खसीबोका प्रतिकेजी ५७० देखि छ सय रुपियाँमा खरिद गरेको छ । यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार १५० रुपियाँमा खरिद गरेको कम्पनीले जनाएको छ । बिक्री मूल्य भनेर मङ्गलबार नै निर्धारण गर्ने कम्पनीले जनाएको छ ।