• ६ कात्तिक २०८१, मङ्गलबार

बाबुरामसँगको सहकार्य चुनावसम्म मात्र होइन : अध्यक्ष दाहाल

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज ८ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले बाबुराम भट्टराईसँगको सहकार्य चुनावसम्मका लागि मात्रै नभएको बताउनुभएको छ । अध्यक्ष दाहालले जनयुद्ध गर्ने, नयाँ संविधान बनाउने र मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने नेतृत्वमा सहकार्य हुनुको नाताले पनि भट्टराईसँगको सहकार्य लामो जाने उहाँको भनाइ छ ।

नेपाल समाजवादी पार्टीले चाडबाडको अवसर पारेर शनिबार (आज) काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले सो कुरा बताउनुभयो । मुलुकको समृद्धिको नयाँ समाजवादी मोडल बनाएर मात्रै आफूहरू मर्न चाहेको उल्लेख गर्दै त्यो सङ्कल्प पूरा गर्ने काममा साथ दिन उहाँले नेपाली जनतालाई आह्वान गर्नुभयो ।

आफूहरू एक्लाएक्लै हिँड्दा केही वर्षयता सफलता हात नपरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अब मुलुकमा फेरि समृद्धिको, विकासको समाजवादको नयाँ मोडल तयार पार्ने सङ्कल्पसहित हामीहरू सहकार्यमा आएका छौँ ।” दाहालले थप्नुभयो, “हामीले समाजवादको लागि एउटा नयाँ जनयुद्ध नयाँ खालको गोरेटो कोर्ने सङ्कल्पका साथ अब एकै ठाउँमा केन्द्रित हुने हो । चुनाव आई नै हाल्यो । चुनावमा त हामी आ–आफ्नो पार्टी भन्दै तर एउटै चुनाव चिन्हबाट जाने निर्णय पनि गरेका छौँ ।” 

एकचोटी फेरि देशलाई समृद्धिको, विकासको, समाजवादको एउटा नयाँ मोडल दिनुपर्छ, त्यो हामीले दिन्छौँ अध्यक्ष दाहालले भन्नुभयो । परिवर्तनको बाहक आफूहरू भएको उहाँले दाबी गर्नुभयो । “हिजो पनि एक अर्काको पूरक भएर हामीले आन्दोलनलाई यहाँसम्म ल्याएको थियौँ, फेरि एक ठाउँमा हुँदा एकको अभाव अर्कोले पूर्ति गरी अगाडि बढछौं” दाहालले भन्नुभयो, “अब हाम्रो जीवनको धेरै वर्ष बाँकी छैन ।  एक दशक लगाएर जनयुद्धको तयारी गर्‍यौँ । एक दशक जनयुद्ध गर्‍यौँ । एक दशक संविधान बनाउनेमा बितायौँ । अव एक दशक फेरि एक ठाउँ केन्द्रित भएर समाजवादको नयाँ मोडेल दिन्छौँ ।”