• १२ असोज २०८१, शनिबार

अन्तर्राष्ट्रिय शान्ति दिवसमा नेपाल स्काउटको साइकल र्‍याली

blog

अन्तर्राष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा स्काउटले काठमाडौं उपत्यकामा विभिन्न जनचेतनामुलक कार्यक्रमसहित आयोजना गरेको साइकल र्‍याली । तस्बिर : रासस

काठमाडौं, असोज ८ गते । नेपाल स्काउटले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा साइकल र्‍याली गरेको छ ।

शनिबार अन्तर्राष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा स्काउटले काठमाडौं उपत्यकामा विभिन्न जनचेतनामूलक कार्यक्रमसहित साइकल  र्‍याली गरेको हो । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट सुरु भएको र्‍याली वसन्तपुरमा गएर टुङ्गिएको थियो ।

र्‍याली तारकेश्वर नगरपालिकाबाट सुरु भई वसन्तपुरमा आएर सकिएको छ । नेपाल स्काउटको आायेजनामा भएको साइकल र्‍यालीमा विभिन्न स्थानबाट गरी एक हजारभन्दा बढीले सहभागिता जनाएका थिए ।

साइकल र्‍याली सकिएपछि वसन्तपुरमा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले जातीय भेदभावको अन्त्य गर्दै विश्व शान्तिको अभियानमा स्काउटले काम गरिरहेको बताउनुभयो ।

उहाँले कुनै पनि बालबालिकामाथि हुने हिंसा र अन्य हिंसात्मक गतिविधि नहोस् भन्नका लागि स्काउटले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा शान्तिपूर्ण र सचेतनामूलक कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो । उहाँले नेपाल शान्तिप्रिय बुद्धभूमि भएकाले पनि सबै नेपालीले शान्तिको लागि आह्वान गर्नुपर्ने बताउनुभयो ।

नेपाल स्काउटका राष्ट्रिय संयोजक भण्डारीले भन्नुभयो, ‘‘हामी जातीय भेदभावको अन्त्य गर्दै विश्व शान्तिको अभियानमा हामी लागि परेका छौँ । कुनै पनि हिंसा नहोस् भनेर स्काउटले यो अभियान सुरु गरेको छ । शान्तिको लागि आह्वान गर्न अनुरोध गर्दछु ।’’

त्यस्तै, नेपाल स्काउट तारकेश्वर नगरपालिकाका उपसंयोजक पूर्णप्रसाद तिमिल्सिनाले अन्तर्राष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा शान्तिपूर्ण कार्यक्रम गरेर शान्तित्वको स्थापना गर्नुपर्ने सन्देश दिएको बताउनुभयो । उहाँले र्‍याली तारकेश्वर नगरपालिकाबाट सुरु भई वसन्तपुरमा पुगेर सकिएको जानकारी दिनुभयो ।

साइकल र्‍यालीमा भक्तपुर, पाटन, तारकेश्वर, टोखालगायत काठमाडौं उपत्यकाका विभिन्न नगरपालिकाबाट शान्तिको सन्देशका लागि आम नागरिकहरूको सहभागिता थियो ।