उर्लाबारी समाचारदाता
उर्लाबारी, पुस २ गते । राष्ट्रिय राजमार्गको वैकल्पिक सडकका रूपमा निर्माण सुरु भएको मदन भण्डारी राजमार्गको वन क्षेत्रका रुख हटाउन मन्त्रीस्तरीय निर्णयले स्वीकृति दिएसँगै रुख कटान गर्ने बाटो खुलेको छ ।
यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र वन तथा वातावरण मन्त्रालयबिच समन्वय नहुँदा मदन भण्डारी राजमार्गको डिपिआर भएको जङ्गल क्षेत्रभित्रका छाप लगाएका रुखहरू २६ महिनायता कटान भएका थिएनन् । नेपाल सरकार मन्त्रीपरिषद्को २०८१ मङ्सिर ६ को बैठकले निर्णय गरे अनुसार डिपिआर गरिएको क्षेत्रका रुख कटान गर्ने बाटो खुलेको हो । मदन भण्डारी राजमार्गको धरान–केराबारी, लेटाङ–मधुमल्ला, बेलडाँगी सडकखण्ड, शान्तिनगर–पातापुर र बारफलाङ्फेदी–शान्तिनगर सडकखण्डका रुख कटान नहुँदा मदन भण्डारी राजमार्गको निर्माण रोकिएको थियो ।
कोशी प्रदेशभित्र पर्ने आयोजनाको निर्माणाधीन ९५.८ किलोमिटर लम्बाइको यस सडकको अधिकांश क्षेत्र जङ्गलभित्र पर्छ । धरान–केराबारी–लेटाङ–मधुमल्ला–बेलडाँगी सडकखण्डको ५३ किलोमिटरभित्र पाँच हजार ७८९ वटा रुख पर्छन् । शान्तिनगरदेखि पातापुर सडकखण्डको १३.८७ किलोमिटर क्षेत्रमा तीन हजार ६८९ वटा रुख पर्छन् । यस्तै वारफलाङ्फेदीदेखि शान्तिनगरसम्मको १३ किमी क्षेत्रमा दुई हजार ८८० वटा रुख छन् । मदन भण्डारी राजमार्ग आयोजना दमक कार्यालयका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार आयोजनाले २०७९ चैत १० गते वन मन्त्रालयलाई रुख हटाइदिन पत्राचार गरेको थियो तर त्यसबेला रुख हटाउन वन मन्त्रालयले चासो देखाएन । सूचना अधिकारी दत्तले भन्नुभयो, “सुनसरीको सर्दुखोलादेखि झापाको बेलडाँगीसम्म ४६ किलोमिटर सडकखण्डमा वनको ३६ हेक्टर जग्गा पर्छ । जग्गा भोगाधिकारका लागि सरकारले स्वीकृति दिएको छ । स्वीकृति दिनासाथ रुख काट्न पाइँदैन । ३६ हेक्टर जमिन आयोजनाले खरिद गरेर दिनुपर्छ वा सो जग्गाको मूल्य बराबरीको राजस्व वन विकास कोषमा जम्मा गर्नुपर्छ तर अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरिदियो भने रुख काट्ने बाटो खुल्छ । अर्थ मन्त्रालयले आशावादी बनाएकाले अब प्रव्रिmया अघि बढ्छ भन्नेमा आयोजना विश्वस्त छ ।”
तर मोरङ जिल्लाका प्रमुख वन अधिकृत उत्सव थापा जग्गा सट्टाभर्ना पहिलो सर्त भएको बताउनुहुन्छ । थापाले भन्नुभयो, “सरकारको वन क्षेत्र ४५ प्रतिशत नघटाउने लक्ष्य छ । आयोजनाले सट्टामा जग्गा दियो भने सोही जग्गामा वृक्षरोपण गरेर वन विस्तार गर्नु पर्छ । अन्यथा वन नियमावली अनुसार वन विकास कोषमा ३६ हेक्टर वन क्षेत्रको राजस्व जम्मा भएपछि मात्र कटान आदेश हुन्छ । उहाँले ३६ हेक्टरमध्ये २५ हेक्टर वन क्षेत्र मोरङ जिल्लामा पर्ने जानकारी दिनुभयो ।
आयोजनाका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार मदन भण्डारी राजमार्गको कोशी प्रदेश खण्डमा सुनसरीको सर्दुखोलादेखि झापाको पातापुरसम्म १२७.८ किमी लम्बाइ पर्छ । त्यसमध्ये कमलखोलादेखि सहादतस्थलसम्म ३२ किमी र चतरादेखि सर्दुखोलासम्म छ किमी ठेक्का लागेको छैन । ३२ किमीको आइइई नै भएको छैन भने छ किमीको ठेक्का प्रक्रिया सुरु भएको छ । ठेक्का लागेको ९५.८ किमीमध्ये १९.५ किमी सडक मात्र कालोपत्रे भइसकेको छ । सडक निर्माणका लागि १२ वटा अलग अलग ठेक्का सम्झौता भएका छन् ।