• २ पुस २०८१, मङ्गलबार

पशुमा पूर्ण खोप कार्यक्रम कार्यान्वयन

blog

कास्की समाचारदाता 

कास्की, पुस २ गते । पशुमा लाग्ने महामारीजन्य रोगको नियन्त्रणका लागि पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि संशोधनसहित कार्यान्वयन गरिएको छ । पशुमा खोप कार्यक्रमका लागि आवश्यक तयारी पूरा गरी हालसम्म गण्डकी प्रदेशभर ९६ हजार २९६ डोज खोप लगाइएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार गाईभैँसी र बाख्रामा गरी २४ हजार ८६१ पटक कृत्रिम गर्भाधान सेवा प्रदान गरिएको र चार हजार ६७१ पटक उपचार सेवा प्रवाह गरिएको छ । 

व्यावसायिक कृषकको घरगोठमा नै पुगी थारो रहेका र पटक पटक कृत्रिम गर्भाधान गराउँदा पनि गर्भधारण हुन नसकी बाँझो भनी पहिचान भएका १५६ गाईभैँसीको बाँझोपनसम्बन्धी समस्याको उपचार गरिएको जनाइएको छ । 

मन्त्रालयका अनुसार गत आवमा नस्ल सुधारका लागि वितरण गरिएका याकको अनुगमन गरी १९ याकमध्ये एकको मृत्यु  भएको र एकको अवस्था अज्ञात रहेको पाइएको छ । १७ याकको स्वास्थ्य परीक्षण गरी उचित व्यवस्थापनका लागि कृषकलाई अभिमुखीकरण गरिएको छ ।  व्यावसायिक कृषिलाई विस्तार गर्न लोकमार्ग कोरिडोरलक्षित मासु उत्पादनका लागि बाख्रा विकास कार्यक्रम सञ्चालनसम्बन्धी मापदण्ड २०८१ स्वीकृत गरिएको कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठले जानकारी दिनुभयो । उपभोक्तालाई स्वच्छ र गुणस्तरीय माछामासु तथा माछामासुजन्य पदार्थ र दुध तथा दुधजन्य पदार्थको उपलब्धलाई थप व्यवस्थित बनाइएको मन्त्रीले श्रेष्ठले बताउनुभयो । 

उहाँले भन्नुभयो, “सहकारीमार्फत दुधको औपचारिक बजारीकरणमा संलग्न दुध उत्पादक कृषकलाई प्रोत्साहन गर्न विगतको व्यवस्थामा सुधार गरी प्रतिलिटर दुध उत्पादनबापत अधिकतम पाँच रुपियाँ उपलब्ध गराउने मापदण्ड संशोधन गरिएको छ ।”