सिन्धुपाल्चोक समाचारदाता
सिन्धुपाल्चोक, पुस २ गते । बाढीपहिरोले बगाएको बाह्रबिसे नगरपालिका–३, खाग्दलखोलामा बेलिब्रिज निर्माण कार्य सम्पन्न भएको छ । बेलिब्रिज निर्माणसँगै तातोपानी नाकाबाट राजधानी छिर्न लागेका मालवाहक कन्टेनर सहज रूपमा आवतजावत गर्न थालेका छन् । बेलिब्रिज बनेपछि तातोपानी–बाह्रबिसे सडक जोडिएको छ ।
बाढीले कोदारी राजमार्गको लार्चा बेलिब्रिज र लिपिङ पक्की पुल बगाएपछि अहिले त्यस स्थानमा ह्युमपाइप राखेर सडक सञ्चालन गरिएको छ । ती दुवै स्थानमा बेलिब्रिज निर्माण कार्य जारी रहेको छ । पुल निर्माण छिट्टै सकिने जनाइएको छ ।
खाग्दलमा ३० मिटर लामो बेलिब्रिज निर्माण गरिएको बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनुभयो । सो बेलिब्रिज सडक विभागको आपत्कालीन कोषबाट एक करोड ९२ लाख रुपियाँको लागतमा डिभिजन सडकमार्फत जडान गरिएको हो ।
सानाठुला सवारीसाधन सहज रूपमा आवतजावत गर्न थालेका छन् । पुल बगाएपछि करिब तीन महिना खोलाबाटै सवारीसाधन र स्थानीय आउजाउ गर्न बाध्य थिए । खाग्दलमा पुल बनेसँगै तातोपानी, मार्मिङ, घुम्थाङ, चाकु, खोकुन्डोल, लिस्ती, दुगुनागढीलगायतका पर्यटकीय स्थलसम्मको आवागमन सहज भएको छ ।