• २ पुस २०८१, मङ्गलबार

कालिकोटको खाँडाचक्र नगरपालिका

विवादित हाकिमले गरे ९८ लाख भुक्तानी

blog

खाँडाचक्र नगरपालिकाको कार्यालय तस्बिर: गाेरखापत्र

कालीकोट पुस २ गते । कालीकोटको खाँडाचक्र नगरपालिकाको विवादित कार्यालय प्रमुखले चार दिनमै ९८ लाख भुक्तानी गरेको पाइएको छ । कार्यालय प्रमुखको जिम्मेवारीमा विवाद भएसँगै कामकाजमा  अवरोध भए पनि हतारमा भुक्तानी गरेको छ । 

निमित्त कार्यालय प्रमुखको जिम्मेवारी समाल्नु भएका छैटौँ अधिकृत प्रवलजंग शाहीको जिम्मेवारी खोसेर अबिराज शाहीलाई कार्यालय प्रमुख बनाएपछि कार्यालयको दैनिक कामकाज प्रभावित हुँदै आएको हो । गत कात्तिक ३० गते मन्त्रालयले पत्र लेख्दै बढुवा नै नभएका छैटौँ तहका अधिकृत अबिराज शाहीलाई आर्थिक अधिकार सहित कार्यालय प्रमुखको जिम्मेवारी दिँदा नगरका सबै कर्मचारीले विरोध गरेका थिए । कर्मचारी र स्थानीय युवाले समेत जुनियरलाई बढुवा गरेको नक्कली निर्णय गरेर कार्यालय प्रमुखको जिम्मेवारी दिएको भन्दै चर्को विरोध गरेपछि अबिराज शाहीको जिम्मेवारी समेत मन्त्रालयले खोसेर अहिले खाँडाचक्र नगरपालिका कार्यालय प्रमुख विहीन भएको छ । 

नगरप्रमुख कमल बहादुर शाहीको मनोमानीमा अबिराज शाहीलाई कार्यालय प्रमुख मात्र होइन एक तह बढुवा समेत गरिएको थियो । तर सबै रेकर्ड हेर्दा एकल निर्णय भएको र निर्णय पनि स्वयम अबिराज शाहीले लेखेको पुष्टि भएपछि सामान्य प्रशासन मन्त्रालयले शाहीको जिम्मेवारी खोसेको थियो । प्रवलजंग शाहीको जिम्मेवारी नगरप्रमुखले खोस्नु भएको हो भने अबिराज शाहीको जिम्मेवारी मन्त्रालयले खोसेपछि नगरपालिका बन्द जस्तै भएको छ । 

कार्यालय प्रमुख नहुँदा अन्य शाखाका कर्मचारी पनि कार्यालय आउदैनन । दैनिक कामकाज पुरै ठप्प छ भने कार्यालय दुई चार जना कार्यालय सहयोगीले खोल्ने र बस्ने गरेका छन् । नगर प्रमुखको मनसाय अनुसार काम नगर्दा आफैले तोकेका हाकिमको जिम्मेवारी खोसेको सबैले आरोप लगाएका छन् । एक कर्मचारीका अनुसार नगर प्रमुख र पुराना कार्यालय प्रमुख प्रवलजंग शाही एकै गाउँका नातेदार भए पनि स्वार्थ नमिलेका कारणले नगरप्रमुख शाहीले जिम्मेवारी खोसेको सुनाउनुभयो । 

हामीले धेरै भन्नु छैन, नगर प्रमुखको चाहना अनुसार कार्यालय प्रमुखले काम नगरेपछि यस्तो समस्या भएको हो ति कर्मचारीको भनाई छ । 

नगर प्रमुख शाहीकै जोडबलमा निमित्त कार्यालय प्रमुखको जिम्मेवारी समाल्नु भएका अबिराज शाहीले चार दिनमा ९८ लाख भुक्तानी गरेको पाइएको छ । गत कार्तिक ३० गते मन्त्रालयको पत्र अनुसार निमित्त कार्यालय प्रमुखको जिम्मेवारी पाउनु भएका अबिराज शाही मङ्सिर ७ गते मात्र हाजिर हुनु भएको थियो । 

उहाँ हाजिर भएकै दिन नयाँ खाता खोलेर ११ गते दिउसो सम्म केही उपभोक्ता र केही आफ्नो नाममा चेक मार्फत ९८ लाख खर्च खर्च गरेको पाइएको हो । नगरपालिकाका सूचना अधिकारी महोन महराले ९८ लाख त होइन त्यसको आधा जतिको हुन सक्ने बताउनुभयो । असोज देखि खर्च केही पनि भएको थिएन । दसै तिहारको बिदाले त्यही भएर पनि खर्च केही भएको हुन सक्ने भन्दै सबै विषय लेखापाल धीर बहादुर शाहीलाई जानकारी हुने सुनाउनुभयो । 

लेखापाला शाहीले भने पटक पटक फोन गर्दा समेत सम्पर्कमा आउन चाहनु भएन । आफूले जिम्मा पाएको चार दिनमा ९८ लाख खर्च गरेको आरोप खेपिरहनु भएका अबिराज शाहीले पनि यस विषयमा बोल्न चाहनु भएन । पुन कार्यालय प्रमुखकै लागि नगर प्रमुखसँगै काठमाडाैँमा रहनु भएका शाहीले फोन रिसिभ गर्नुभएन । यस अघि पनि अधिकृत अबिराज शाही आफू निमित्त रहेका बेला आफ्नै श्रीमतीलाई सामाजिक परिचालकमा नियुक्ति दिएर आफैले श्रीमतीको हाजिर लगाएर ६ महिना सम्मको तलब भुक्तानी गराउनु भएको थियो ।

Author

प्रेमराज सिम्खडा