यदुप्रसाद भट्ट
मनाङ, पुस २ गते । चरनका लागि लेक तथा हिमाली भेग पुगेका भेडाबाख्राका बथान लेकबाट बेँसी झर्न थालेका छन् । अत्यधिक चिसो हुनु तथा चरनमा समस्या आउन थालेपछि भेडाबाख्राका बथान बेँसी तथा न्यानो ठाउँतिर झार्न थालेका छन् । मनाङमा कृषकको मुख्य पेसा भनेको भेडाबाख्रा, च्याङ्ग्रा तथा चौँरीपालन हो ।
जब माथिल्लो भेगमा घाँस सकिँदै जान्छ, तब गोठालाले भेडाबाख्रा, च्याङ्ग्रा तथा चौँरी बेँसीतिर झार्ने गर्छन् । मनाङको ङिस्याङ गाउँपालिकाका भेडाबाख्रा हाल गाउँमा झारिएको युवा पशुपालक सगर गुरुङले बताउनुभयो । उहाँले वर्षायाममा हिमालका काखमा चरेका भेडाबाख्रा, च्याङ्ग्रा तथा चौँरीगोठ गाउँमै झारिएको बताउनुभयो ।
वैशाखदेखि असोजसम्म भेडाबाख्रा लेकतर्फ लैजाने गरेकामा चिसो मौसम सुरु भएसँगै बेँसीतर्फ फर्किएको गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्मीयामका छ महिना लेक र जाडोयामको छ महिना बेँसीमा भेडाबाख्रा, च्याङ्ग्रा तथा चौँरीगोठ राख्ने गर्दछौँ । बेँसीमा झारिएका भेडाबाख्राका बथानको मल यहाँका बारीमा प्रयोग हुने गरेको छ ।”
बेँसीमा रहेको बेलामा भेडीगोठबाट निस्किएको मल खेतबारीमा प्रयोग गर्ने गरिन्छ भने भेडाको उन निकालेर राडीपाखी, बक्खुलगायत सामग्री बनाउन प्रयोग हुने गर्छ । चामे गाउँपालिकाको खान्चोकको भेडीगोठ बेँसी झरेको राज गुरुङले बताउनुभयो । यस पालिकाको पाँच वटै वडामा भेडापालन गरिने उहाँको भनाइ छ । उहाँले हिमालमा हिउँचितुवाको डर हुने तथा घाँसको अभावमा भेडाबाख्रा बेँसी झार्नु परेको जानकारी दिनुभयो ।
त्यसै गरी नासोँ गाउँपालिका–८, ताचैका वडाध्यक्ष याद घलेले छ महिनाका लागि भेडाबाख्रा, च्याङ्ग्रा तथा चौँरी गाउँ झारिएको बताउनुभएको छ । उहाँले गत वर्षको तुलनामा यस वर्ष अत्यधिक चिसो बढेको उल्लेख गर्दै आफ्नो गाउँका सात वटा भेडाबाख्राको गोठ चैतसम्म नै गाउँमै राखिने बताउनुभयो । वडाध्यक्षसमेत रहेका घले लामो समयदेखि भेडाबाख्रापालन गर्दै आउनुभएको छ ।
उहाँले भन्नुभयो, “हिमाली भेगको आलु, जौ, करु, फापर, गहुँ तथा मकैका लागि मल नभई हुँदैन । हामी त छ महिना हिमालको काखमा भेडीगोठ लिएर जान्छौँ र छ महिना जाडो छल्न तथा मलका लागि बेँसी झार्छौं ।” अहिले मनाङका भेडाबाख्रा, च्याङ्ग्रा तथा चौँरी मस्र्याङ्दी नदीको किनारतिर बेँसीमा देख्न सकिने स्थानीयले बताएका छन् ।