• २९ वैशाख २०८१, शनिबार

हाम्रा सम्पदा

राजहठले मारिएका वीर कालु पाण्डेको समाधिस्थल

blog

काठमाडौं, असोज ८ गते । काठमाडौं  जिल्लाको चन्द्रागिरि नगरपालिका वडा नं १ दहचौकमा अवस्थित काजी कालु पाण्डेको समाधिस्थल र सालिक हेर्न जानेहरूको सङ्ख्या बढ्दो छ । कालु पाण्डे एक महान् गोरखाली क्षेत्रीय भारदार हुन् । कालु पाण्डेलाई गोरखाली  जनताले प्रथम पटक मुख्यमन्त्री चयन गरेका थिए ।

पाण्डेको जन्म वि सं १७७० मा भएको थियो । पाण्डेले लमजुङको सन्धिमा कुशलतापूर्वक कार्य गरेका र विसं १८०१ को नुवाकोट युद्धमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले स्वयं पृथ्वीनारायण शाहले पनि ‘अब उप्रान्त कालु पाण्डेको सल्लाहबिना कुनै पनि काम गर्ने छैन’ भनेका थिए । पृथ्वीनारायण शाहको यो बोलीले अनुमान गर्न सकिन्छ कि कालु पाण्डे गोरखाको तत्कालीन सैनिक, प्रशासनिक र कूटनीतिकको क्षेत्रमा निकै नै अब्बल थिए ।



कालु पाण्डे पृथ्वीनारायण शाहको पहिलो विवाहमा मकवानपुर जन्ती जाँदा चन्द्रहार र एकदन्ते हात्ती दाइजो पाउनुपर्छ भनेर मागका प्रस्तावक पनि थिए । दोस्रो विवाहमा बनारस जाँदा राजप्रतिनिधि भई गोरखामा बसेर जेठी मुमा चन्द्रप्रभावतीको मुख्य सल्लाहकार पनि थिए ।

कालु पाण्डेलाई बाल्यकालमा वंशीधर, बध्दुसिध्द र काले भन्ने गरिन्थ्यो । कालु पाण्डेका तीन छोरा क्रमशः वंशराज, रणशूर र दामोदर पाण्डे र एक छोरी चित्रावती थिइन ।

कालु पाण्डे पृथ्वीनारायण शाहको दाहिने हात थिए । कालु पाण्डेसँग राजभक्ति, जनप्रियता, देशभक्ति, युद्ध कुशलता, प्रशासकीय दक्षता र कूटनीतिक परिपक्वता, भनेको कुरा गोरखाका रैतीदेखि आफ्ना प्रतिद्वन्द्वी भारदार, राजमाता, चौतरिया, शत्रु–मित्र, बाइसे चौबिसे राजा रजौटाहरूले गोरखामा काजी चुन्ने चुनावमा पाण्डेको नाम प्रस्ताव गरेबाट स्पष्ट हुन्छ ।


पाण्डे पृथ्वीनारायण शाहभन्दा नौ वर्षले जेठा थिए । यिनको नेतृत्वमा सबै युद्धहरू कौशलपूर्ण तरिकाले अधिकतम सङ्ख्यामा कूटनीतिक हिसाबले जितिएको थियो । कीर्तिपुरको आक्रमणमा पृथ्वीनारायण शाहले नमान्दा हार हुन पुगेका थिए । यस कीर्तिपुरको युद्धमा कालु पाण्डेसहित चार सय गोरखकाली सैनिकले वीरगति प्राप्त गरेका थिए ।

कीर्तिपुरवासीहरुले वीर कालु पाण्डेको शिर काटी लगेको भनाइ छ । उनका सबै हतियारहरू कब्जामा लिइयो र शवलाई इन्द्रदहमा गोरखा देख्ने ठाउँमा लगेर दाहसंस्कार गरियो । त्यति बेला पृथ्वीनारायण शाहले दहचौकमा पुगेपछि बल्ल भने ‘काल्याले त भन्थ्यो, मेरो हठले लडाइँ बिग्रियो’ कालुको अनुपस्थितिमा केही समय गोरखाको विजय अभियान अघि बढ्न सकेन ।


कीर्तिपुरको लडाइँमा काजी कालु पाण्डेले भनेका थिए । यो लडाई गर्न उपयुक्त समय होइन भनेर पृथ्वीनारायण शाहलाई सल्लाह दिएका थिए, तर पृथ्वीनारायण शाह रिसाएर कालु पाण्डेलाई भने ‘तिमीलाई मर्न डर लाग्यो ?’ त्यसपछि कालु पाण्डे युद्धको नेतृत्व गर्न विवश भए र युद्धमा नै वीरगति प्राप्त गरे । नेपाल एकीकरणका अभियन्ता, गोरखकाली फौजका सेनापति विसं १८१४ जेठ १९ गते कीर्तिपुर लडाइँको क्रममा पाण्डेले शहादत प्राप्त गरे ।

काजी कालु पाण्डेको यस समाधिस्थलमा पाण्डेको सालिक राखिएको छ । साथै समाधिस्थलको चारैतिर सुन्दर बगैँचा छ । ऐतिहासिक एवं पर्यटकीय र धार्मिक स्थल रहेको यो दहचौक निकै नै प्रख्यात छ । प्राकृतिक सम्पदाले भरिपूर्ण यो स्थल निकै नै रमणीयका साथै जैविक विविधताले भरिपूर्ण छ ।