अर्जुन काफ्ले
स्याङ्जा, असोज ८ गते । गण्डकी प्रदेशमा गरिने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र रूपमा अगाडि बढेको छ। ३६ खेलका खेलस्थल सार्वजनिक गरेसँगै खेलमैदानको निर्माणलाई अगाडि बढाइएको छ।
प्रदेशको राजधानी पोखरालाई मुख्य आयोजनास्थल मान्दै प्रदेशका सात जिल्लामा खेल खेलाउने तयारी राखेपले गरेको छ। खेलस्थल र खेल तालिका सार्वजनिकसँगै प्रतियोगिता मुख्य आयोजनास्थल पोखरामा राष्ट्रिय खेलकुदको सरगर्मी बढेको छ।
आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म प्रतियोगिता कास्कीसहित स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बागलुङमा खेल हुनेछ। गण्डकीका सबै जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गतको कम्तीमा एक खेल खेलाउने भनिए पनि अन्तिममा आएर तनहुँ, लमजुङ, मनाङ र मुस्ताङमा खेल नहुने भएको छ। अधिकांश खेल पोखरामा केन्द्रित गरिएको छ।
नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्स, महिला क्रिकेट र ब्याडमिन्टन पोखरा रङ्गशालामा खेलाइनेछ। पुरुष फुटबल, टेनिस, बक्सिङ, भलिबल पुरुष, जिम्न्यास्टिक, ह्यान्डबल पुरुष तथा महिला, सफ्ट टेनिस, स्क्वास र उसुको प्रतियोगिता पोखरा रङ्गशालमा हुने प्रचारप्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले जानाकारी दिनुभयो। बास्केटबल पुरुष पोखरा रङ्गशाला र महिलाको खेल पृथ्वीनारायण क्याम्पस, आर्चरी, फेन्सिङ पोखरा रङ्गशालमा हुनेछ। यस्तै जुडो र फुलकन्ट्याक्ट कराँते पोखराको प्रदर्शनी हल तथा शारीरिक सुगठन पोखरा सभागृहमा खेलाइने विष्टले बताउनुभयो।
पौडी पोखराका फिस्टेल एकेडेमी, हक्की महिला गण्डकी बोर्डिङ स्कुल, भारत्तोलन पोखरा उद्योग वाणिज्य सङ्घको सभाहल, गल्फ पोखरा हिमालयन गल्फ कोर्स, साइक्लिङ, ट्रायथलन, प्याराग्लाइडिङ पनि पोखरामै हुनेछ। रग्बी भण्डारढिक खेलमैदान, कबड्डी रञ्जित पार्टी प्यालेस रानीपौवा, खोखो पोखरा रङ्गशालाभित्रको ह्यान्डबल एकेडेमीमा खेलाइनेछ।
म्याग्दीमा तेक्वान्दो र महिला भलिबल हुनेछ भने बागलुङमा आईटीएफ तेक्वान्दो हुनेछ। नवलपुरमा सेपाक ताक्रो र कुस्ती, गोरखामा बुद्धिचाल तथा स्याङ्जाको वालिङमा महिला फुटबल आयोजना हुनेछ भने पूर्वाधारको अभावमा सुटिङ भने काठमाडौँमा खेलाइनेछ। परिषद्ले खेलाडीहरूको अनलाइन दर्ता सुरु गरेको छ भने सबै टोलीले अनलाइन फाराम दर्ता गर्नुपर्नेछ। खेल उद्घाटनअगावै महिला क्रिकेट असोज २३ गतेदेखि पोखरामा सुरु हुनेछ। प्रतियोगितामा सात प्रदेश, तीन विभागी र एनआरएन गरी ११ टोलीले एक हजार ३८६ पदकका लागि प्रतिस्पर्धा हुनेछ।