• १२ मंसिर २०८१, बुधबार

उडान प्रतिबन्ध फुकुवा गर्न आग्रह

blog

काठमाडौँ, असोज ८ गते । परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग युरोपेली सङ्घको संसदीय प्रतिनिधिमण्डलले शुक्रबार भेटवार्ता गरेको छ । 

युरोपेली संसद्का उपाध्यक्ष इभलिन रेगनरको अध्यक्षतामा नेपाल भ्रमणमा रहेको सङ्घको प्रतिनिधिमण्डलले मन्त्री खड्कासँग भेट गरेको हो । भेटवार्तामा वातावरण, जलवायु परिवर्तन, नवीकरणीय ऊर्जा, व्यापार तथा लगानीका क्षेत्रमा भएका र सम्भावित सहकार्यका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

त्यस्तै नेपालको विकासशील मुलुकमा स्तरोन्नतिको तयारी, पर्यटन उद्योगको पुनरुत्थान एवं नागरिक उड्डयनमा सङ्घको साझेदारीलगायत विभिन्न क्षेत्रका विषयमा छलफल केन्द्रित रहेको मन्त्रालयले उल्लेख गरेको छ । युरोपको आकाशमा नेपाली वायुसेवा कम्पनीका उडानमाथि लागेको प्रतिबन्ध फुकुवा भइनसकेको वर्तमान अवस्थामा त्यसका लागि थप पहल गरिदिन मन्त्री खड्काले आग्रह गर्नुभएको थियो । युरोपेली संसद्को प्रतिनिधिमण्डलले दुई पक्षीय सहयोग र संसदीय अनुभव आदानप्रदानका विषयमा सधैँ सङ्घको साथ रहने प्रतिक्रिया दिएको छ ।