• १२ मंसिर २०८१, बुधबार

अख्तियारद्वारा २४ जनाविरुद्ध मुद्दा

blog

काठमाडौँ, असोज ८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारजन्य कसुर गरेको आरोपमा शुक्रबार विभिन्न जिल्लाका २४ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सुर्खेतको साबिकको घुमखहरे गाउँ विकास समिति (हाल गुर्भाकोट नगरपालिका)का सचिव खड्कबहादुर रोकायाले मोटर सिँचाइ आयोजनामा अनियमित तरिकाबाट उपभोक्ता समितिलाई पेस्की रकम दिएको आरोपमा आयोगले मुद्दा दायर गरेको छ। यस घटनामा संलग्न भएको आरोपमा सोही गाउँ विकास समितिका तत्कालीन सचिव देवीलाल सुनार, तत्कालीन प्राविधिक सहायक खगेन्द्रप्रसाद उपाध्याय, उपभोक्ता समितिका अध्यक्ष टोपबहादुर घर्तीविरुद्ध पनि मुद्दा दायर गरेको छ। 

त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ९ स्थित शिव निम्न माध्यमिक विद्यालयमा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सेवा प्रवेश गरेको आरोपमा गीता सोडारीविरुद्ध पनि मुद्दा दायर गरेको छ। बाँकेको सिर्जना सामुदायिक वन उपभोक्ता समूहले गुणस्तरहीन भ्यु टावर निर्माण गरेको आरोपमा समूहका अध्यक्ष दशरथ शर्मा पराजुली, कोषाध्यक्ष बिनुकुमारी पाण्डे र सचिव दिलमाया रानाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। आरोपितलाई जनही १५ लाख आठ हजार ६०९ रुपियाँ बिगो माग गरिएको छ। 

सप्तरीको भेटेरिनरी अस्पताल तथा पशु विकास केन्द्रका पशु विकास अधिकृत शिवनारायण यादवले घाँस विकास कार्यक्रममा घुस लिएको आरोपमा एक लाख ८० हजार रुपियाँ बिगो दाबी गरेर आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

यसैगरी सुर्खेतको सिम्ता नगरपालिकामा कोटेश्वर दरबार निर्माणको क्रममा नक्कली विवरण बनाई गैरकानुनी लाभ लिएको आरोपमा डिभिजन वन कार्यालय सुर्खेतका तत्कालीन डिभिजन वन अधिकृत गोविन्दप्रसाद दाहाल र सहायक वन अधिकृत टेकबहादुर रावलविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ। दरबार निर्माणका क्रममा अस्वाभाविक रूपमा लगत इस्टिमेट बनाएको आरोपमा एलिसा डिजाइन एन्ड बिल्डर्सका प्रोप्राइटर लोकेन्द्र राना, कोटेश्वर दरबार निर्माण उपभोक्ता समितिका अध्यक्ष रुद्रबहादुर बस्नेत, उपाध्यक्ष धु्रवबहादुर सिंह, सचिव युवराज पोखरेल, कोषाध्यक्ष पदमकुमारी बुढाविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ। 

त्यस्तै आयोगले बर्दियाको साबिक मैनापोखर गाउँ विकास समिति वडा नम्बर १ का चिरकु तेलीको नाममा रहेको सम्पत्तिमा हकदाबी गर्ने कोही नभएपछि स्थानीय तहको नाममा सार्नुपर्नेमा नक्कली हकवाला खडा गरेर जग्गा नामसारी गराउने कार्यमा संलग्न भएको आरोपमा भूमि सुधार तथा मालपोत कार्यालय बर्दियाका कार्यालय प्रमुख भीमबहादुर खत्री र नासु रुद्रसेन साहुविरुद्ध पनि जनही ५४ लाख ८० हजार ७५९ रुपियाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ। 

नक्कली हकवाला बन्ने सैजाद अली तेली, जैनव तेलीविरुद्ध पनि ५४ लाख ८० हजार ७५९ रुपियाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ। यस कार्यमा सघाउने हालको बढैयाताल नगरपालिका वडा नम्बर ६ का तत्कालीन अध्यक्ष रामहरस थारु, बाँसगढी नगरपालिका वडा नम्बर ८ का अञ्जना दाहालविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ। 

राजस्व हिनामिना गरेको आरोपमा मालपोत कार्यालय पर्साका तत्कालीन नासु मदनप्रसाद गुप्ताविरुद्ध पनि आयोगले १२ लाख ३७ हजार ९६२ रुपियाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ। गुप्तालाई सघाएको आरोपमा सोही कार्यालयका लेखापाल विष्णुप्रसाद ढकालविरुद्ध पनि आयोगले १२ लाख ३७ हजार ९६२ रुपियाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।