• ८ वैशाख २०८१, शनिबार

एक्लै भिड्न नसकेपछि गठबन्धन बनाए : अध्यक्ष ओली

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज ७ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै भिड्न नसक्ने भएपछि सत्तारुढ दलहरू गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको बताउनुभएको छ । राष्ट्रिय युवा संघ, नेपालको प्रचार भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उहाँले अनेकथरी शक्तिहरू मिल्दा पनि आफ्नो पार्टीलाई कमजोर बनाउन नसकेको दाबी गर्नुभयो । 

अध्यक्ष ओलीले सत्तारुढ दलहरूलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले अन्य दललाई त्रिशूलीको भेलले बगाए जसरी बगाउने निश्चित भएको दाबी गर्नुभयो । अध्यक्ष ओलीले एमालेको लहर देखेर सत्तारुढ गठबन्धन तर्सेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अनेकथरी शक्तिहरू मिल्दा पनि प्रमुख पार्टीबाट कमजोर पार्न सकेका छैनन् । अहिले त गठबन्धन बनाएर मात्रै हामीसँग मुकाबिला गर्ने कुरा गरिरहेका छन् ।” आगामी निर्वाचनमा एमालेको भेलले सबै दललाई बगाउने उहाँले जिकिर गर्नुभयो ।

जहाँ नेपाली, त्यहाँ एमाले अहिलेको अवस्था रहेको बताउँदै अध्यक्ष ओलीले देशभित्र मात्र नभई, देश बाहिर पनि एमालेको जनलहर रहेको बताउनुभयो । अध्यक्ष ओलीले देशको समृद्धि एमालेको नेतृत्वमा मात्र सम्भव भएको जिकिर गर्नुभयो ।