• १२ वैशाख २०८१, बुधबार

प्रहरी तालिममा एकेडेमीले सहयोग पुग्नेछ : गृहमन्त्री खाण

blog

भारत सरकारको अनुदान सहयोगमा काभ्रेको पनौतीमा निर्माण हुने नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानको भूमिपूजन कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाण । तस्बिर : केदार तिमल्सिना

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, असोज ७ गते । गृहमन्त्री बालकृष्ण खाणले काभ्रेपलाञ्चोकको पनौतीमा निर्माण हुने नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माणले नेपाल प्रहरीका अधिकृतको तालिमलाई अन्तर्राष्ट्रिय, अत्याधुनिक र गुणस्तरीय बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । 

प्रतिष्ठानको भवन निर्माण अन्तर्गतको भूमिपूजन कार्यक्रममा शुक्रबार उहाँले सो कुरा बताउनुभएको हो । प्रहरी कर्मचारीलाई सुरक्षा र आपराधिक कामको रोकथाम गर्न र नियन्त्रण गर्न नियमित र विशिष्टीकृत तालिम गर्न आवश्यक रहेको परिस्थितिमा एकेडेमीको योगदान रहने बताउनुभयो । 


गृहमन्त्री खाणले करिब ८० हजार जनशक्ति रहेको नेपाल प्रहरीको फिल्डमा नेतृत्व र सङ्गठनको नेतृत्व गर्ने जनशक्ति उत्पादन गर्ने अत्याधुनिक उपकरण र सुविधासहितको विश्वस्तरीय तालिम केन्द्रको अभाव भएका बेला परियोजनाले पूरा गर्ने बताउनुभयो । “मुलुकमा भएका परिवर्तनले राजनीति, सामाजिक, आर्थिक र प्राविधिक क्षेत्रमा थुप्रै सुरक्षा जोखिम र चुनौती उत्पन्न भएका छन्” उहाँले थप्नुभयो, “समाजमा नयाँ–नयाँ प्रकृतिका अपराधको विकास भइरहेको छ, शान्ति सुरक्षा तथा अपराध अनुसन्धानको दायरासमेत फराकिलो हुँदैगएको छ ।” 

लामो समयदेखि एकेडेमीलाई परिष्कृत र आवश्यकताअनुसार नयाँ प्रविधि र साधन स्रोतयुक्त बनाउने प्रहरीको सपना साकार बनाउन एकेडेमीले सहयोग गर्ने बताउनुभयो । प्रतिष्ठानको निर्माण परियोजनाको काम नेपाल प्रहरी र नेपालका लागि गौरवपूर्ण र ऐतिहासिक महत्वपूर्ण  रहेको बताउनुभयो । 


गृहमन्त्री खाणले नेपाल र भारतबीचको सम्बन्ध सदिऔँदेखि निरन्तर सौहार्द, सुमधुर र मैत्रीपूर्ण बन्दैआएको बताउनुभयो । दुवै देशबीच राजनीतिक, व्यापारिक, आर्थिक सामाजिक, सांस्कृतिक सम्बन्ध रहेको उहाँको भनाइ छ । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन परियोजनाले सहयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत र नेपालबीच वर्षौँदेखि मित्रवत् सम्बन्ध रहेको बताउँदै भारतले नेपाल सरकारसँग मिलेर रेलको लिक बनाउने बताउनुभयो । सुख्खा बन्दरगाह, अस्पताल, शैक्षिक संस्था निर्माणको काम पनि भइरहेको उहाँले जानकारी गराउनुभयो । 

नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानको पूर्वाधार निर्माणका साथै आगामी दिनमा तालिमका लागि भारतीय प्रहरी एकेडेमी र नेपाल प्रहरी एकेडेमीबीच थप सम्झौता हुनेमा आफू आशावादी रहेको उहाँले बताउनुभयो । 

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माणले गर्ने २५ वर्षदेखिको सपना साकार हुन लागेको बताउनुभयो । परियोजनाको विस्तृत परियोजना रिपोर्ट अन्तिम चरणमा रहेको बताउँदै प्रतिष्ठान निर्माणको विषयमा आएका वातावरणीय समस्या समाधान उन्मुख रहेको बताउनुभयो । 


भारतीय सरकारको अनुदान सहयोगमा निर्माण हुने प्रतिष्ठान निर्माणका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमणको क्रममा सन् २०१४ नोभेम्बर २५ मा प्रतिष्ठान निर्माणको सम्झौता भएको थियो । 

सन् १९९६ (२०५२) मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा प्रतिष्ठान निर्माण गर्ने कुरा चलेको र सोही समयदेखि नै पनौतीमा आयोजनाको लागि जग्गा अधिग्रहण सुरु गरिएको थियो । करिब ८४ एकड क्षेत्रफलमा एकेडेमीका लागि आवश्यक पर्ने भौतिक संरचनाहरु निर्माण हुने बताइएको छ । एकेडेमीको सम्पूर्ण संरचना तयार गर्न करिब दश अर्ब रुपियाँ लगानी हुनेछ ।