• १३ साउन २०८१, आइतबार

चाडबाड लागेको सङ्केत : लेकबाट बेँसी झरे गोठाला

blog

राजु लामिछाने 

रुकुमपूर्व, असोज ७ गते । रुकुमपूर्वको भुमे गाउँपालिका–३ राम्लीलेकका गोठालाहरू भैँसी तथा गाईबस्तुसँगै औल (बेँसी) झर्न थालेका छन्। शरदयाम नजिकिएसँगै लेकमा चिसो बतास चल्न थालेपछि गोठालाहरू बेँसी झर्न थालेका हुन्। समुद्री सतहबाट करिब दुई हजार पाँच सय मिटर उचाइमा रहेको राम्लीलेकसँगै रिकाधुरी, साउने भदौरे लेक र बुकिपाटनबाट पनि गाईबस्तु तथा भैँसीहरू औल झारिएका छन्। 

वर्षायामभर विभिन्न लेकको पाटनमा ‘गुँड’ लगाएजस्तै गरी देखिने गोठहरू यही असोज ५ गतेपछि बेँसी झरेका छन्। करिब छ महिना लामो लेकको बसाइ सकिएको छ। भुमे गाउँपालिका–३ का सम्पत्ति मगर गाउँले नियमअनुसार लेकको बसाइ असोज ५ गतेसम्म औलमा झारिसक्नुपर्ने बताउनुहुन्छ। भेडीगोठबाहेक गाईबस्तु तथा भैँसीहरू औलमा झारी सक्नुपर्छ। “हिउँद लाग्यो, जाडो भयो त्यसकारण तल झ¥यौँ,” मगरले थप्नुभयो, “अब बल्ल गाउँघरमा चाडपर्व आएकोजस्तो हुन्छ।” 

हिउँदमा औल र बर्खामा लेक पशुपालनको मुख्य आधार नै हो। गाउँमा रहेको बारीभरि मकै लगाएर सबै लेकतिर लाग्छन्। उहाँका अनुसार औलमा डिङ्गा (गाईभैँसी) बाँध्ने ठाउँसमेत हुँदैन। 

गाउँको बाली थन्काउन घरमूलीहरू गाईबस्तुसँगै असोजमा गाउँ आइपुग्छन्। गोठालालाई आधा बाटोसम्म लिन बालबच्चा जाने गर्छन्। यसले दशँै आएको सङ्केत गर्छ। वर्षायामभर प्रायः सुनसानजस्तै हुने गाउँमा असोज लागेपछि रमझम हुन्छ। भुमेकी लयनसरी बुढाले गर्मी छल्न र गाईभैँसीलाई ताजा घाँसपात खुवाउन लेक जाने गरेको बताउनुहुन्छ। उहाँका अनुसार मकै भाँचेर अब बारीमा गोठ बनाइन्छ। गहुँ छर्नका लागि खेतमै गोठ बनाउँदै सार्दै गर्ने चलन रहेको छ। 

मङ्सिरमा गहुँ छरेपछि पुसदेखि फागुनसम्म गोठाला र बस्तुभाउ औल तथा घरमै रहन्छन् । यतिबेला हिउँका कारण अन्यत्र जान नसकिने पनि हुन्छ। भुमे गाउँपालिकाका पूर्वअध्यक्ष रामसुर बुढा लेकको करिब छ महिना लामो बसाइपछि किसानहरू गाउँ फर्किएको बताउनुहुन्छ। 

बुढाका अनुसार लेकबाट फर्केकाहरूको माहोलले गाउँमा परदेशी आएझैँ भएको हुन्छ। लेकमा रहँदा गोठालेहरूले डोको, दाम्ला र कम्बल पनि बुनेका हुन्छन्। असोज १ देखि ५ गतेसम्म बुकी, राम्ली, पाथिहाल्न र साउने भदौरे खर्क गएका गोठाला फर्किएका छन्।