• १२ मंसिर २०८१, बुधबार

‘झुटा सूचनाको प्रसारण चुनौतीपूर्ण’

blog

काठमाडौँ, असोज ७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सूचना र सञ्चारका क्षेत्रमा भएको नयाँ प्रविधिको विकाससँगै देखापरेको सञ्चारका नयाँ अनलाइनका माध्यमबाट झुटा र भ्रमपूर्ण सूचनाको प्रसार हुनु चुनौतीको विषय भएको बताउनुभएको छ। 

प्रेस काउन्सिल नेपालको ५३औँ वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै उहाँले विश्वव्यापी चुनौतीका रूपमा रहेको सञ्चारका अनलाइन माध्यमलाई बढी मर्यादित र प्रभावकारी बनाउनका लागि काउन्सिलले अनलाइन सञ्चालन गर्नुअघि अनिवार्य अभिमुखीकरणको व्यवस्था गरेकोमा खुसी व्यक्त गर्नुभयो। 

उहाँले पत्रकारिताको पेसागत आचरण कायम राखी स्वच्छ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकासका लागि प्रेस काउन्सिल स्थापना गरिएको स्मरण गर्दै त्यसका लागि उक्त संस्थाले निरन्तर भूमिका निर्वाह गरिरहने पनि बताउनुभयो। 

पत्रकारको अभिभावक संस्था काउन्सिलले पत्रकार आचारसंहिताको पालना गर्ने पत्रकारलाई पुरस्कृत गर्ने र उल्लङ्घन गर्नेलाई कारबाही गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो। राष्ट्रपति भण्डारीले संविधानले सुनिश्चित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र सुदृढ तुल्याउन संवैधानिक प्रावधानलाई राज्यका सबै अङ्गले गम्भीरतापूर्वक पालना गर्नुपर्ने बताउनुभयो। 

उहाँले स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र आगामी मङ्सिर ४ गते हुन लागेको सङ्घ तथा प्रदेश सभाको आवधिक निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न नागरिक समुदायका रूपमा रहेको पत्रकारिता क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। 

समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लोकतन्त्रको जगका रूपमा रहेको स्थानीय सरकार निर्माण भइसकेको स्मरण गर्दै आगामी मङ्सिर ४ मा हुने निर्वाचनमा पत्रकारको अझै ठूलो योगदानको अपेक्षा रहेको बताउनुभयो। 

उहाँले भन्नुभयो, “हामी अब प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सँघारमा छौँ । पत्रकार र प्रेस काउन्सिलको अझै बढी योगदान समाजले चाहेको छ। सरकार स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र विश्वसनीय रूपमा निर्वाचन सम्पन्न गराई जनमतमार्फत मुलुकलाई समृद्धिको बाटोतर्फ अग्रसर गराउने आकाङ्क्षालाई सफल बनाउन प्रतिबद्ध छ।”

उहाँले मञ्चमा आएर कर्तव्य र अधिकारको कुरा गर्न सहज हुने उल्लेख गर्दै तर त्यसलाई व्यवहारमा परिणत गर्न कठिन हुने भएकाले कार्यान्वयनतर्फ लाग्न ध्यानाकर्षण गराउनुभयो। 

प्रेस काउन्सिल कुन उद्देश्यका साथ स्थापना भएको हो र त्यो उद्देश्यमा काउन्सिल कति अघि बढेको छ, अहिलेको समयको चुनौतीलाई सामना गर्न कति सक्षम छ, त्यसतर्फ पनि विश्लेषण गर्नु जरुरी रहेको उहाँले औँल्याउनुभयो। सञ्चारमन्त्री कार्कीले काउन्सिलप्रति समाजले अझै धेरै अपेक्षा गरेको बताउँदै प्रेरणाको स्रोत बन्न युवा पत्रकारलाई आग्रह गर्नुभयो।

समारोहमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राष्ट्रभित्र विविध समस्या उत्पन्न भएकाले राष्ट्रियताका सवालमा होस् वा देश निर्माणको अन्य अभियानमा सबै राजनीतिक शक्ति गम्भीर र सचेत हुनुपर्नेमा जोड दिनुभयो। उक्त अभियान सफल बनाउन सञ्चार जगत्को महŒवपूर्ण भूमिका हुने उहाँको भनाइ थियो। उहाँले को पत्रकार हो र को होइन भन्ने छुट्याउन गाह्रो भएको तथा निष्पक्षता एवं तथ्यमा नै शङ्का हुने गरी मिडियामा सामग्री आउँदा विश्वसनीयता नै खलबलिएको बताउनुभयो।