• ११ वैशाख २०८१, मङ्गलबार

१० हजार सङ्क्रमित उपचारको दायर बाहिर

नेपालमा हरेक वर्ष एचआइभी सङ्क्रमित पाँच सय बढीको मृत्यु

blog

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र र स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको कार्यक्रममा सहभागी ।

काठमाडौं, असोज ६ गते । नेपालमा वार्षिक पाँच सय १० जनाको मृत्यु एचआइभी सङ्क्रमणले हुने गरेको छ। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र र स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको कार्यक्रममा यो तथ्य सार्वजनिक भएको हो। एचआइभी एड्स तथा यौन रोग सम्बन्धी लान्छाना तथा भेदभाव कम गर्ने उद्देश्यले कार्यक्रम आयोजना  भएको हो ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी निर्देशक डा.सुधा देवकोटाका अनुसार नेपालमा १० हजार एचआइभी सङ्क्रमित  उपचारको दायर बाहिर छन्। ३० हजार सङ्क्रमितमध्ये २० हजार मात्र उपचारको दायरमा रहेको डा. देवकोटाले जानकारी दिनुभयो। सरकारले एड्स २०३० सम्ममा अन्त्य गर्ने लक्ष्य लिएको छ। सरकारसँग १० हजार बिरामी उपचारको दायरा नआउँदा रोग नियन्त्रण थप चुनौती थपिएको उहाँले बताउनुभयो।

समाजमा भेदभाव हुने डरले १० हजार बिरामी उपचारको दायरामा नआएको उहाँले बताउनुभयो। उहाँका अनुसार एचआइभी सङ्क्रमितको अनुमानित सङ्ख्या ३० हजारमा सबैभन्दा बढी पुरुष छन्। सङ्क्रमितमध्ये ५५ प्रतिशत अर्थात् १६ हजार चार सय पुरुष छन्। त्यसैगरी १३ हजार ६ सय अर्थात् ४५ प्रतिशत महिला छन्। 

१४ वर्ष मुनिका एचआइभी सङ्क्रमित बच्चाको सङ्ख्या १२ सय रहेको छ। यो कुल सङ्क्रमितको चार प्रतिशत हो।  एचआइभी सङ्क्रमित गर्भवतीको सङ्ख्या दुई सय रहेको छ। 

२०२६ सम्ममा ९५ प्रतिशत सङ्क्रमितको पहिचान 

२०२६ सम्ममा अनुमानित एचआइभी सङ्क्रमितमध्ये ९५ प्रतिशतको पहिचान गर्ने सरकारको लक्ष्य छ। एचआइभी सङ्क्रमण पुष्टि भएका ९५ प्रतिशत व्यक्तिको उपचार गर्ने रणनीतिक योजना रहेको छ। एआरटी सेवा लिइरहेका एचआइभी सङ्क्रमितमध्ये ९५ प्रतिशतमा भाइरल लोड कम गर्ने र नयाँ एचआइभी सङ्क्रमणलाई ९० प्रतिशतले कम गर्ने योजना रहेको छ। 

त्यसैगरी, केन्द्रले आमाबाट बच्चामा एचआइभीको सङ्क्रमण उन्मुलन गर्ने। जन्मजात भिरिङ्गीको केस दर प्रति लाख जीवित जन्ममा ५० वा सो भन्दा कम गर्ने लक्ष्य लिएको छ। आमाबाट बच्चामा सर्ने एचआइभी रोकथाम सेवा ७७ वटै जिल्लाका रहेका बर्थिङ केन्द्र स्थापना गर्ने योजना छ। सरकारले ७७ जिल्लामा १८९ केन्द्रबाट परीक्षण गर्दै आएको छ।

बजेटको ६५ प्रतिशत रकम औषधिमा खर्च

सरकारले तीन वर्षदेखि केन्द्रलाई बजेट नबढाएकोमा डा. देवकोटाले गुनासो गर्नुभयो। आर्थिक वर्ष २०७९÷८० सालको बजेटमा केन्द्रलाई एचआइभी ५५ करोड बजेट विनियोजन गरेको थियो।

जसमा ६५ प्रतिशत रकम औषधि र किट खरिद गर्दै सकिने डा.देवकोटाले जानकारी दिनुभयो। २० हजार बिरामीलाई खुवाउने औषधि र एड्स परीक्षण गर्ने किट खरिदमा प्रयोग गर्ने उहाँले बताउनुभयो। रोग नियन्त्रण गर्ने आवश्यक सामग्री किन्न दाताको भर पर्नुपरेको उहाँको भनाइ छ। 

डा.देवकोटाले भन्नुभयो, “रोग नियन्त्रण गर्न आवश्यक सामग्री खरिद गर्दा दाताको भर पर्नुपर्ने अवस्था छ। यसले सामग्री पाउन समय लाग्ने गरेको छ। यदि मन्त्रालयले नै सहजीकरण गरेमा चाहिने सामग्री किन्न समय लाग्ने थिएन।”

कार्यक्रममा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले सरकारले रोग नियन्त्रण गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो।  उहाँले भन्नुभयो, “एचआइभी एड्सको नियन्त्रण गर्न लागि पर्नुहोस् मन्त्रालयको तर्फबाट पूर्ण सहयोग हुनेछ।” 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।