• ११ मंसिर २०८१, मङ्गलबार

डेंगु रोग नियन्त्रणमा गम्भीर बन्न एमालेको आग्रह

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज ६ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले महामारीको रूप लिँदै गरेको डेंगु रोग नियन्त्रणमा गम्भीर बन्न सरकार तथा मातहतका निकायलाई आग्रह गरेको छ । एमाले स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख योगेश भट्टराईले विज्ञप्ति जारी गर्नुहुँदै सो आग्रह गर्नुभएको हो । 

“डेंगु रोगको मूल स्रोत लामखुट्टे नियन्त्रणका लागि समुदायस्तरको परिचालन गर्न, बिरामीको पहिचान र परीक्षणलाई व्यापक र सहज बनाउन, अस्पतालको सेवा विस्तार गर्न, जनशक्ति र बजेट थप गर्न, सरकारलगायत विभिन्न सरकारी गैरसरकारी निकायका बीचमा समन्वयात्मक परिचालन गर्न, सिटामोल लगायतका औषधीको सहज उपलब्धताका लागि राज्यसँग माग गर्दछ” विज्ञप्तिमा उल्लेख छ । 

एमालेले पार्टीका तहगत कमिटी तथा जनसङ्गठन र पार्टी सदस्यहरूलाई समेत डेंगु रोग नियन्त्रणमा योगदान गर्न आह्वान गरेको छ । गत साउनदेखि देखापरेको डेंगु रोगबाट पछिल्लो तथ्यांकअनुसार १७ हजार ५९४ जना प्रभावित भएका छन् भने स्वास्थ्य संस्थामा नआई घरमै रहेका बिरामीहरूको सङ्ख्या योभन्दा धेरै रहेको एमालेको बुझाइ छ । 

डेंगुुबाट अहिलेसम्म २१ जनाको मृत्यु भइसकेको । देशका ७५ जिल्लामा यो रोगका लक्षण फैलिएको एमालेको बुझाइ छ । बिरामीको चापले स्वास्थ्य संस्थामा बेडको अभाव भएको जनाउँदै एमालेले बिरामीको उपचार सहज बनाउन सरकार तथा सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।