• १३ साउन २०८१, आइतबार

सडक स्तरोन्नतिमा ढिलाइ

blog

चरीकोट समाचारदाता

चरीकोट, असोज ६ गते । तीन दशक अघिबाट निर्माण सुरु गरिएको दोलखा जिल्लाको भीरकोट–झुले–छौँडे सडकले अझै पूर्णता पाउन सकेको छैन। तामाकोसी गाउँपालिकामा रहेको भीरकोट–झुले–छौँडे सडकभन्दा पछि ट्र्याक खोलिएका दोलखाका कतिपय सडक कालोपत्रे सम्पन्न भइसकेको त कतिपय धमाधम कालोपत्रे भइरहँदा अन्यत्र सडकमा ग्राभेलसम्म गरिएको छैन। 

स्वर्र्र्गीय भीमबहादुर खड्काको पहलमा २०४२ सालमा उक्त सडकको ट्र्याक खोलिएको थियो। तीनै तहका सरकारको बेवास्ताका कारण ग्रामीण सडक तामाकोसी गाउँपालिका–१ र ३ जोड्ने ग्रामीण सडकको पटक–पटक विस्तृत परियोजना प्रस्ताव बनाए पनि अझै कालोपत्रेको प्रक्रियामा जान सकेको छैन। स्थानीय केशव काफ्लेका अनुसार सडकमा सार्वजनिक यातायात चल्न थालेको नै १५ वर्ष भइसकेको छ तर सडकको अवस्था भने उस्तै छ। 

करिब २३ किलोमिटर लम्बाइको ट्र्याक खोलिएको उक्त सडकमा स्थानीय तहले सडकका लागि बजेट विनियोजन गरेको छैन। भौतिक पूर्वाधार कार्यालय सिन्धुपाल्चोकका प्राविधिक रवीन खातीका अनुसार उक्त सडकका लागि प्रदेशबाट चालू आवमा एक करोड १५ लाख रुपियाँ बजेट विनियोजन भएको छ।