• २३ फागुन २०८१, शुक्रबार

उदयपुरमा बोलेरोको ठक्करबाट दिदीबहिनीको मृत्यु

blog

सांकेतिक तस्बिर

भक्तिविलास पोखरेल 

गाईघाट, फागुन २२ गते। उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ डिएमगेटमा बिहीबार साँझ बोलेरो गाडीको ठक्करबाट दिदीबहिनीको घटनास्थलमै मृत्यु भएको छ। 

त्रियुगा गाईघाट डिएमगेटबाट बसपार्क जाने भित्री सडकमा गाईघाटस्थित हिमशिखर फर्निचरको प्र.नं. १०५ ००१ च ००९१ नम्बरको बोलेरो गाडीले बाटो काट्ने क्रममा अनियन्त्रित भएर घरको पेटीमा बसीरहेका दुई दिदीबहिनिलाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्याल उदयपुरका अनुसार सप्तरी जिल्ला राजविराज घर भएर त्रिनपा १२ स्थित राजेन्द्र मैनालीको घरमा डेरा गरी बस्दै आएका ललन दासका १२ र १४ वर्षीया छोरी देवीकुमारी र  अनुकुमारी दासलाई उक्त बोलेरोले ठक्कर दिँदा दुई दिदीबहिनीको मुत्यु भएको हो।

दुर्घटनापछि १४ वर्षीया अनुकुमारीलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुरमा लगिएको थियो ।  उनलाई अस्पतालले मुत्यु भएको घोषणा गरेको थियो। सवारी चालक त्रियुगा नगरपालिका वडा नं ९ गैरुन बस्ने १८ वर्षीय  निर्जल कटुवाललाई गाडीसहित प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ।