नवराज नेपाली
बागलुङ (गलकोट), पुस ११ गते । बागलुङ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको ८ औँ बागलुङ महोत्सव शुक्रबारदेखि सुरु गरिएको छ । आजदेखि महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्घाटन गर्नुहुने छ ।
बागलुङ नगरपालिका वडा १ रामरेखामा हुने महोत्सवलाई आकर्षक बनाउन संघले विशेष पहल गरेको छ । त्यसका लागि संघका अध्यक्ष राजनकुमार शाक्यको अध्यक्षतामा मूल समारोह समिति गठन भएको छ । अन्य क्रियाकलापलाई दुई दर्जनभन्दा बढी उपसमिति गठन गरिएको छ ।
महोत्सवमा दुई सय व्यावसायिक स्टल रहने जनाइएको छ । त्यसबाहेक महोत्सवमा कृषि, घरेलु तथा स्थानीय उत्पादनलाई विशेष प्राथमिकताका साथ र कृषिको हकमा निःशुल्क स्टल दिइने भएको छ। यो पटक महोत्सवमा सुन्तलामय बनाउने लक्ष्य राखिएको छ ।
महोत्सवमा पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरिएको छ । पुरुषतर्फ गण्डकी प्रदेशका पालिकास्तरीय खेल हुनेछन् । अहिलेसम्म १० टिमले दर्ता गरेर खेलका लागि तयारी गरेको खेल संयोजक प्रकाश थापाले जानकारी दिनुभयो । महिला भलिबलतर्फ हुने गण्डकी प्रदेशस्तरीय खेलमा अहिलेसम्म ७ टिम सहभागी बन्ने जनाइएको छ ।
यस्तै, महोत्सवमा टिकटक, कथा वाचन प्रतियोगिताजस्ता नवप्रवर्दनात्मक कार्यक्रम पनि समावेश छन् । त्यसका लागि विद्यालयका विद्यार्थीलाई बागलुङको पर्यटन, उद्योगको क्षेत्रको सकारात्मक सन्देश जानेखालका कथा तयारीमा जिम्मा समेत दिइएको छ ।
लोकदोहोरी गीत प्रतियोगिता त महोत्सवको अर्को आकर्षणकै विषय हो । यो पटक खुला लोकदोहोरी गीत प्रतियोगितासहित राष्ट्रिय कलाकारको नियमित प्रस्तुति पनि रहनेछ । अघिल्लो महोत्सवमा लोकदोहोरी प्रतियोगिता नराख्दा ग्रामीण क्षेत्रका दर्शकहरुले आलोचना समेत गर्नुभएको थियो । अब भने यो समस्या नरहने प्रेस सल्लाहकार सुवास आचार्यले बताउनुभयो ।
बागलुङस्थित बाङेचौरमा गरिने महोत्सवको टिकटबाट बागलुङ उद्योग बाणिज्य संघले मानवसेवा आश्रम, नेपाल पत्रकार महासंघ लगायतलाई सहयोग गर्ने बताएको छ ।