काठमाडौं, फागुन २२ गते । नेकपा (एमाले) की उपाध्यक्ष एवम् मोतीदेवी स्मृति केन्द्रका अध्यक्ष अष्टलक्ष्मी शाक्यले महिला अधिकारको सुनिश्चितताका लागि महिला निर्णायक ठाउँमा पुग्नुपर्ने बताउनुभएको छ ।
एक सय १५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मोतीदेवी स्मृति केन्द्रले बिहीबार काठमाडौंमा आयोजना गरेको विभिन्न क्षेत्रका आठ प्रेरणादायी महिलालाई सम्मान, वृत्तचित्र सार्वजनिक एवम् कृषिमेला कार्यक्रममा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभयो । उहाँले देशमा सङ्घीय लोकतान्त्रिक व्यवस्थामा नयाँ संविधान प्राप्त भएको तथा प्रमुख र उपप्रमुखमध्ये एक पदमा महिला नेतृत्व अनिवार्य हुनुपर्नेजस्ता उपलब्धि भएको चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक व्यवस्थामा महिला दिवस मनाइ राख्दाखेरी हामीले नयाँ संविधान प्राप्त गरेका छौं । यसमा विभिन्न पदहरुमा प्रमुख र उपप्रमुखमध्ये एक महिला भनेर स्थापित गराउँदैआएको छ । यसैगरी, सरकारमा पनि पहिला एउटा मन्त्रालय महिलाको जिम्मा भनेर छोडिन्थ्यो । अहिले सबै मन्त्रालयमा महिला पुगिसक्नुभएको छ, अर्थ, गृह र प्रधानमन्त्री बाहेक ।”
उहाँले भावी दिनमा अर्थ, गृह र प्रधानमन्त्री पदमा समेत महिलाको पालो आउने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “अर्थ, गृह र प्रधानमन्त्रीमा पनि महिलाको पालो आउँदैछ, आउनुपर्छ । त्यसमा मात्र हामीले सङ्घर्ष गरेको, त्यो अधिकार प्राप्त गरेको हो भन्ने मलाई लाग्छ ।” यद्यपि, पितृसत्ता र सामन्ती चिन्तकका कारण त्यसको नकारात्मक असर महिलामा समेत पर्ने गरेको उहाँको भनाइ छ ।
उहाँले २०३५-३६ सालतिर पूर्ण प्रजातन्त्र प्राप्त नभइसकेको तर केही खुकुलो स्थिति निर्माण भएको अवस्थामा अखिल नेपाल महिला सङ्घले ७१ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउने निर्णय गरेको स्मरण गर्नुभयो । तत्कालीन समयमा धरपकड, दमन र यातनाबिच २०३८ सालमा ७२ औं महिला दिवस मनाउँदै अहिलेको स्थिती निर्माण भएको उहाँको भनाइ छ ।
उहाँले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई एकता र सङ्घर्षबाट प्राप्त भएको गौरवपूर्ण दिनका रुपमा मनाउनुपर्ने भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “धरपकड, जेलनेल, यातनाबिच म आफैं पनि भूमिगत थिएँ । त्यतिबेला ओडार, खोलाको किनार र जङ्गलमा नारी दिवस मनाउनुपर्थ्यो । अप्ठ्यारो हुन्थ्यो, भागाभाग, हानाहानको अवस्थादेखि यसलाई गौरवपूर्ण रुपमा मनाउँदै आएका छौं ।”
उहाँले जबसम्म महिला घर, समाज र देशभित्र सुरक्षित हुन सक्दैन तबसम्म देश बन्न नसक्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “महिला अहिले पनि सुरक्षित छैन घरभित्रै पनि । जबसम्म महिला सुरक्षित बन्दैन, यो देश बन्दैन । हामी सामन्ती र पितृसत्तात्मक सोच, यसका चुनौतीलाई सामना गर्दै अघि बढ्नुपर्छ । समतामूलक र कम्तिमा पनि समृद्धि र राष्ट्र निर्माणका लागि एकजुट हुन आवश्यक छ ।”
उहाँले कार्यक्रममा सम्मानित हुनुहुने प्रेरणादायी महिलालाई बधाई एवम् शुभकामना ज्ञापन गर्नुभयो । कार्यक्रममा ढाकाको कपडा उद्यमी इन्दिरा सापकोटा, लोकतान्त्रिक आन्दोलनमा योगदान दिएकी सङ्घर्षशील महिला विर्खमाया थामी, बागलुङका बडीगाउँ गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, अल्पसङ्ख्यक समुदायका स्वास्थ्य स्वयम्सेविका फुलमती प्रजा, जलन पीडित तथा जलन पीडितका अभियान्ता राधालक्ष्मी श्रेष्ठ, कलाकार बसुन्धारा भुषाल, नेपालका पहिलो महिला रेस्लर भगवती खड्का, वाक र श्रवण शक्ति नभए पनि विलक्षण प्रतिभा भएका कलाकार सुजल बम सम्मान व्यक्त गरेको छ ।
मोतीदेवी स्मृति केन्द्रबाट अघिल्लो वर्ष सम्मानित हुनुहुने पद्मासाना शाक्य, शान्ता मानवी, शान्ति चड्डा, सावित्रि थापा, लक्ष्मी शर्मा, गोमा देवकोटा, लाक्पा फुटी शेर्पा, मिथिला यादवले दोसल्ला र प्रमाणपत्र प्रदान गर्नुभएको हो ।