• २२ फागुन २०८१, बिहिबार

कृषकलाई अनुदान दिनेमा सरकार प्रतिबद्ध छ : मन्त्री अधिकारी

blog

मध्यविन्दु कृषि प्रविधि तथा रैथाने खाना महोत्सवको उदघाटन गर्दै कृषिमन्त्री रामनाथ अधिकारी ।

ज्ञानु पंगेनी 

मध्यविन्दु, फागुन २२ गते । कृषिमन्त्री रामनाथ अधिकारीले वास्तविक कृषकलाई अनुदान दिने कुरामा अहिलेको सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । मध्यविन्दु कृषि प्रविधि तथा रैथाने खाना महोत्सवको बिहीबार उदघाटन कार्यक्रममा उहाँले सो कुरा  बताउनुभएको हो । 

मन्त्री अधिकारीले भन्नुभयो, ‘अनुदानबारेमा विभिन्न टिकाटिप्पणी हुने गरेको छ ।  त्यसैले अहिले सरकार आएपछि अनुदानको काम रोकेका छौँ । कृषि मन्त्रालयबाट अब किसानको हितमा वास्तविक किसानले नै  पाउने गरेर मात्र अनुदानको कामलाई अघि बढाउने छौं ।’ 

यस्तै, मन्त्री अधिकारीले नेपालमा अझै पनि ६० प्रतिशत जमिनमा सिँचाइ नभएको भन्दै ती जमिनमा  सिँचाइको व्यवस्था गर्दै कृषि क्षेत्रबाट नै देशमा समृद्धि ल्याउने र गरिबी हटाउने काममा सरकार लागेको बताउनुभयो ।  

संविधानमा नै कृषि क्षेत्रको समग्र विकासको जिम्मा स्थानीय सरकारलाई दिने कुरा उल्लेख रहेको जिकिर गर्दै मन्त्री अधिकारीले  मध्यविन्दु नगरपालिकाले यस किसिमको कृषि महोत्सवको आयोजन गरेर नवीनतम कार्यको सुरु गरेको भन्दै यसले कृषि उत्पादन र बजारीकरणमा टेवा पुग्ने बताउनुभयो । बिहीबार सुरु भएको कृषि महोत्सव शनिबार तीन दिनसम्म चल्ने छ । 

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नगर प्रमुख भिमलाल अधिकारीले नवीनतम कृषि प्रविधि तथा उपकरणको प्रदर्शनी, परम्परागत रैथाने खानाको प्रवर्धन र संरक्षण, कृषक उद्यमी तथा प्राविधिक–अनुसन्धानकर्ताबिच अन्तरक्रिया गर्ने अवसर सिर्जना गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको बताउनुभयो । 

उहाँले सर्वसाधरणमा कृषि क्षेत्रका नवीनतम प्रविधिहरूको जानकारी दिन, स्थानीय उत्पादनको बजार प्रबर्धनमा सहयोग गर्न कृषि बाली तथा पशुपन्छी बिमाबाट कृषकलाई लाभान्वित गराउन र वित्तीय संस्थामार्फत कृषिकर्जाको लागि सहजीकरण गर्न मद्दत पुग्ने अपेक्षा लिएको बताउनुभयो । 

महोत्सवमा आधुनिक कृषि प्रविधि, जैविक कृषि, स्मार्ट कृषि उपकरण, रैथाने बिउबिजन तथा मलको प्रदर्शनी र बिक्री, कृषिविज्ञ सरोकारवालासँग अन्तरसंवाद, विभिन्न भेगका रैथाने परम्परागत परिकारको प्रदर्शनी, स्वाद परीक्षण तथा बिक्री, अन्तरविद्यालय कृषि हाजिरीजवाफ प्रतियोगिता, विभिन्न जातजातिका मौलिक सांस्कृतिक प्रस्तुतिको कार्यक्रम हुनेछ ।

महोत्सवमा स्थानीय कृषकहरू, कृषि अनुसन्धानकर्ता तथा विद्यार्थी, कृषि प्रविधि तथा खाद्य प्रशोधन उद्यमी, व्यावसायी तथा स्थानीय उत्पादक, सम्बन्धित सङ्घसंस्था र वित्तीय सङ्घसंस्था समेत गरी २५ हजार जनाले प्रत्यक्ष रूपमा अवलोकन गर्ने अपेक्षा गरिएको छ ।  

महोत्सवमा कृषि, प्रविधि तथा रैथाने खानागरी १२५ वटा स्टल रहेको छ । कृषि, प्रविधि तथा रैथाने खानाको स्टल प्रवेशलाई निः शुल्क गरिएको छ । महोत्सवमा प्रदर्शनी सञ्चालन गर्न १८ लाख ५० हजार रुपियाँ खर्च हुने आँकलन गरिएको छ ।