• ११ पुस २०८२, शुक्रबार

ढुङ्गा लागेर मजदुरको मृत्यु

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस ११ गते । ताप्लेजुङमा ढुङ्गाले लागेर शुक्रबार एक मजदुरको मृत्यु भएको छ । प्रहरीका अनुसार फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर –५ जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको ढुङ्गा लागेर मृत्यु भएको हो ।

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमका अनुसार ढुङ्गाले लागेर मृत्यु हुनेमा दैलेखको गुराँस गाउँपालिका –३ का २४ वर्षीय भद्रबहादुर शाही रहेका छन् । फक्ताङ्लुङ गाउँपालिका –६ लेलेपको पिपलचौकस्थित तमोर –५ जलविद्युत आयोजनाको आटलेट सुरुङ निर्माणको काम गरिरहेको बेला माथिबाट झरेको ढुङ्गाले शाहीसहित अर्का एकजना मजदुरलाई लागेको थियो ।

उक्त ढुङ्गाले लागेर गम्भीर घाइते हुनुभएका शाहीलाई तत्काल उपचारका लागि तापेथोक आधारभूत अस्पताल पु¥याउदा चिकित्सकले मृत घोषणा गरेको थियो । ढुङ्गाले लागेर मृत्यु हुनुभएका शाहीको शव जिल्ला अस्पताल ताप्लेजुङतर्फ पठाइएको प्रनाउ गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार अर्का घाइते मजदुर बर्दियाको मधुवन नगरपालिका –४ का ३३ वर्षीय आकाश खड्काको दाहिने खुट्टा भाँचिएको छ । घाइते खड्कालाई पनि तापेथोक आधारभूत अस्पतालमा प्राथमिक उपचारपछि जिल्ला अस्पताल नै सिफारिस (रेफर) गरिएको प्रहरीले जनाएको छ । 

यता घटनाको स्थलगत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक आशिष पोखरेलको नेतृत्वमा प्रहरी टोली खटेको जनाइएको छ ।