चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको एक वडा कार्यालयले दैनिक उपभोग्य समानसहित खसीको मासुको मूल्य छ सय रुपियाँ तोकेको छ । मिक्वाखोला गाउँपालिका वडा नम्बर ४ साँवाले अन्नपात लगायतका उपभोग्य वस्तुको मूल्य दर तोकेको हो ।
वडाले बङ्गुर र सुँगुरको मासु प्रतिकिलोग्राम ४ सय रुपियाँ, खसीको मासु प्रतिकिलोग्राम ६ सय रुपियाँ, राँगाको मासु प्रतिकिलोग्राम ३ सय रुपियाँ तोकेको छ । त्यस्तै वडाले बाख्राको मासु प्रतिकिलोग्राम ५ सय रुपियाँ र स्थानीय (लोकल) कुखुराको मासुको मूल्य प्रतिकिलोग्राम एक हजार रुपियाँ तोकेको छ ।
यसै गरी मूल्य दर तोके (निर्धारण) अनुसार खाद्यान्न अर्थात् अन्नपाततर्फ धान प्रतिपाथी २५० रुपियाँ, मकै पाथीको ३०० रुपियाँ छ । यस्तै कोदो र गहुँ प्रतिपाथी समान ३०० रुपियाँ, जौ प्रतिपाथी २५० रुपियाँ, भटमास ८०० रुपियाँ र आलुको बिउ प्रतिपाथी ३०० रुपियाँ मूल्य तोकिएको छ । घिउकाे मूल्य प्रतिमाना ३०० रुपियाँ तोकिएको छ ।
यस्तै घरेलु मदिरा जाँड रक्सीको पनि वडा कार्यालयले मूल्य निर्धारण गरेको छ । जसअनुसार लोकल रक्सी प्रतिबोतल १५० रुपियाँ, तोङ्वा १२५ रुपियाँ र निघार प्रतिबोतल १०० रुपियाँ मूल्य तोकिएको छ । वडाले घरेलु कामदारको ज्याला (पारिश्रमिक) पनि तोकेको छ । पुरुष कामदारका लागि एक दिनको ५०० रुपियाँ र महिला कामदारका लागि ४०० रुपियाँ पारिश्रमिक तोकेको छ ।
वडाध्यक्ष सदनकुमार साँवा लिम्बूका अनुसार गएको आइतबार बसेको वडा कार्यसमितिको बैठकले उपभोग्य वस्तुको मूल्य तोक्ने निर्णय गरेको हो । वडाभित्र उपभोग्य वस्तुको मूल्य र घरेलु कामदारको ज्यालामा एकरूपता ल्याउन दररेट तोकिएको वडाध्यक्ष साँवाले जानकारी दिनुभयो । यता वडाले तोकेको मूल्य दर आ–आफ्नो टोलमा कार्यान्वयन गर्न पनि वडा कार्यालयले अनुरोध गरेको छ ।