फडिन्द्र अधिकारी
लेखनाथ, फागुन २२ गते । गण्डकी प्रदेश सभाको बिहीबार भएको सातौं अधिवेशन अन्तर्गतको चौथो बैठकमा चार विधेयक पेश भएका छन्। सभामा उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले ‘गण्डकी प्रदेश औद्योगिक व्यवसायी ऐन’लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा लैजाने प्रस्ताव पेश गर्नुभयो।
सभामा मुख्यमन्त्रीको तर्फबाट सामाजिक विकास तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले ‘प्रदेश निजामति सेवा ऐन २०७५’ लाई संशोधन गर्न बनेको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक सभासमक्ष प्रस्तुत गर्नुभयो। सरकारले यसअघि ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न यो विधेयक ल्याइएको हो।
बिहीबारै बे७कमा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटाले ‘गण्डकी प्रदेशमा विद्युत् विकास गर्न बनेको विधेयक’ प्रस्तुत गर्नुभयो। सभामा उनले ‘गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत–सम्भार व्यवस्था गर्न बनेको विधेयक’ पनि पेश भएको छ।
बैठकमा अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले ‘गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’को प्रतिवेदन सभामा प्रस्तुत गर्नुभयो। विधेयकमाथि विभिन्न समितिमा छलफल भएपछि प्रतिवेदनसहित विधेयक सदनमा प्रस्तुत भएको हो।
बैठकलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्रीसमेत रहनुभएका एमाले संसदीय दलका नेता खगराज अधिकारीले राजतन्त्रकालीन समयका आन्दोलनहरु स्मरण गर्नुभयो। उहाँले भन्नुभयो, “राजतन्त्रलाई हटाएर गणतन्त्र ल्याउने हामी अझै जिउँदै छौं। मेरो शरीरमा यातनाका दाग छन्।” पछिल्लो समय राजतन्त्र पुनस्र्थापनाका लागि भन्दै भइरहेका गतिविधि स्वीकार्य नभएको उहाँको भनाइ छ।
नेता अधिकारीले भन्नुभयो, “यदि कोही संविधानको मर्म विपरीत श्री ५ महाराजधिराज राख्न खोज्छ भने त्यो संविधानमाथिको खेलवाड हुनेछ, जुन सहन सकिँदैन।” अब सुशासन कायम गर्दै विकास र समृद्धिमा लाग्नुको विकल्प नभएको उहाँको भनाइ छ।
बैठकमा सांसदहरूले विशेष तथा शून्य समयमा प्रदेशका विभिन्न समस्या र सरोकारका विषयबारे धारणा राख्नुभयो। बैठकमा सांसदहरु भीमबहादुर कार्की, सांसद डिल्लीराज सुवेदी, देवका पहारी, भक्तबहादुर कुँवर, रेखा गुरुङ, श्यामराज महतले बोल्नुभएको थियो।