• १३ साउन २०८१, आइतबार

विपन्नलाई विद्युत महसुल छुट

blog

पाल्पा वितरण केन्द्र र नगरपालिकाबीच सम्झौता कार्यक्रम सहभागी। तस्बिर : रेखीराम राना

रेखीराम राना

पाल्पा, असोज ५ गते । तानसेन नगरपालिकाका एक हजार ८१५ विपन्न परिवारले न्युनतम विद्युत् महशुलमा छुट पाउने भएका छन्। नगरभित्रका विपन्न समुदायका एक हजार ८१५ घरपरिवारलाई २० युनिटसम्मको विद्युत् महसुल नगरपालिकाले तिर्ने भएको हो । 

नगरपालिकाको चालु आव २०७९/०८० को वार्षिक कार्यक्रम अनुसार पाँच एम्पीएर क्षमताको मिटर जडान भएका र मासिक न्युनतम २० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्तालाई महसुलमा अनुदान दिन लागेको हो। सो कार्यक्रमका लागि सबैभन्दा धेरै तानसेनको वडा नम्बर ११ बाट ४८२ घरपरिवारले निवेदन दिएका छन्। 

यस्तै तानसेन वडा नम्बर ८ बाट ३४५, वडा नम्बर १२ बाट ३२६, वडा नम्बर ९ बाट १६३, वडा नम्बर १३ बाट १२५ परिवारको निवेदन दिएको तानसेन नगरपालिकाका वरिष्ठ अधिकृत दुर्गाबहादुर थापाले जानकारी दिनुभयो। 

यस्तै वडा नम्बर ५ बाट १६५, वडा नम्बर १० बाट ६८, वडा नम्बर ६ बाट ६०, वडा नम्बर ७ बाट ४१, वडा नम्बर १४ बाट २१, वडा नम्बर १ बाट नौ, ४ बाट पाँच, ३ बाट चार र २ बाट एक परिवारको निवेदन आएको थापाले बताउनुभयो। 

निवेदन परेका सबै उपभोक्ताको न्युनतम विद्युत् महसुल नगरपालिकाले विद्युत् प्राधिकरण पाल्पा वितरण केन्द्रसँग सम्झौता गरेर रकम बुझाउने नगरपालिकाकी कार्यवाहक प्रमुख प्रतीक्षा सिंजालीले जानकारी दिनुभयो। विपन्न समुदायका नागरिकलाई आधारभूत विद्युत् सेवा प्रदान गर्न नगरको एघारौँ सभाले सहुलियत दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो। 

उपभोक्तालाई न्युनतम विद्युत् महसुल दिनका लागि विद्युत् प्राधिकरण पाल्पा वितरण केन्द्रसँग भएको सम्झौताअनुसार एकमुष्ठ रकम नगरपालिकाले दिनेछ। सम्झौता अनुसार मासिक सरदरमा २० युनिटसम्मका ३० रुपियाँ नगरपालिकाले दिने प्रवक्ता यादवसिंह कार्कीले जानकारी दिनुभयो।