• १९ असार २०८१, बुधबार

३० वर्षदेखि पाउँदै आएको कृषि र पशु सेवा बन्द, कार्यालय खण्डहर

blog

सेवा बन्दभएपछि खण्डहर बनेको इलाका कर्यालय सिगास गाउँपाकिला–२, गाँजरी, बैतडी । तस्बिरः गोकर्ण दयाल

बैतडी, असोज ५ गते । ३० वर्षभन्दा लामो समयदेखि कृषि र पशु सेवा दिदैं आइरहेका  इलाका कार्यालयको सेवा बन्द हुँदा सरकारी भवन खण्डहर बनेका छन् । कार्यालयसँगै सेवासमेत बन्द हुँदा कृषि र पशु रोगको उपचार गर्ने हजारौँ किसान मर्कामा परेका छन् । 

बैतडीको च्वाँगढ क्षेत्रको सिगास गाउँपालिका–२, मा रहेका कृषि सेवा र पशु सेवा कार्यालय बन्द हुँदा सरकारी भवन खण्डहर बनेपछि यहाँका किसान पशु सेवा लिन छिमेकी पाटन नगरपालिका धाउन बाध्य छन् । 

स्थानीय तहको पुनर्संरचनापछि कृषि र पशु सेवाको अधिकार गाउँपालिका केन्द्रमा सरे पनि पशु रोगको उपचार सुरु नहुँदा बैतडीको च्वाँगढ क्षेत्रका हजारौँ किसान मर्कामा परेको स्थानीय अगुवा किसान दानसिंह बोहराले बताउनुभयो । 

इलाबाट पाउँदै आएको सेवा बन्द भएपछि पशु रोगको उपचार गर्न छिमेकी पाटन नगरपालिका पुगेर बिरामी बाख्राको उपचार गर्नु परेको बोहराले गुनासो गर्नुभयो । 

उहाँले भन्नुभयो,“ मलेसियाबाट फर्केर मैले बाख्रा पालन सुरु गरेको छु । अहिले मसँग ८० वटा बाख्रा रहेका छन् । रोग लागे उपचार गर्न समस्या छ । पहिले इलाकामै पशु सेवा पाइन्थ्यो । सङ्घीयतापछि पशु सेवा कार्यालय बन्द हुँदा सिगास गाउँपालिका किसानले पाँच वर्षदेखि पशुमा उन्नत जातको कृत्रिम गर्भाधान र पशु रोगको उपचार गराउन  पाएका छैनन् । ”

इलाका पशु सेवा कार्यालयको सबै अधिकार स्थानीय सरकारमा गएपछि पशु सेवा कार्यालय बन्द भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका पशु विकास अधिकृत गुमानी पन्तले बताउनुभयो ।

उहाँले भन्नुभयो,“स्थानीय तहको पुनर्संरचना अघि पशु सेवा कार्यालय पाटनले बैतडीका १३ इलामा सेवा केन्द्र र उप सेवा केन्द्र सञ्चालन गरेर उन्नत जातका बोका, राँगा वितरण सँगै कृत्रिम गर्भाधान र पशु रोगको उपचार गर्ने गरेको थियो । अहिले सबै अधिकार स्थानीय तहको सरकारमा गइसकेपछि सेवा नपाएको किसानको गुनासो आउने गरेको छ ।”

स्थानीय तहको सरकारले पशु सेवा कार्यालय र कृषि कार्यालय बन्द नगरी कर्मचारीलाई इलाका कार्यलमै खटाएर सेवा दिन सकिने भए पनि गाउँपालिकाले चासो नदेखाएको उहाँले बताउनुभयो । 

इलाका कार्यालयबाट पाइँदै आएको पशु सेवा बन्द भएको विषयमा जानकारी लिन खोज्दा सिगास गाउँपालिकाका पशु सेवा फाँटका कर्मचारी सम्पर्कमा आउन चाहनु भएन । 

पशु पालनका लागि बैतडीको च्वाँगढ क्षेत्रको सिगास गाउँपालिका भैँसी पालन र घ्यूका लागि जिल्लामै अग्रणी गाउँपालिकाका रूपमा चिनिए पनि पछिल्लो समय इलाका कार्यालयको सेवा बन्द हुँदा किसानले समस्या भोग्नु परेको गुनासो गरेका छन् ।  

Author

गोकर्ण दयाल